☰ open Loading... 18 April 2024|  

क्षेत्रीय अस्पताल सुर्खेतमा आइसीयू सेवा शुरु
  | २७ श्रावण २०७४, शुक्रबार ०९:५१

सुर्खेत । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा सघन उपचार कक्ष (आइसीयू) सेवा सुरु भएको छ । आइसीयूमा राखेर उपचार गर्नुपर्ने विरामीहरुलाई नेपालगञ्ज वा बाहिर पठाउनु पर्ने झन्झण्टको अन्त्य गर्दै अस्पतालले यो सेवा शुरु गरेको हो ।

अस्पतालमा आ.सी.यू. सेवाको सञ्चालन गर्न स्वः नन्दबहादुर कार्कीको स्मृतीमा श्रीमती थीरकुमारी कार्कीले गरेकी थिइन् । थीरकुमारीले आइसीयू सेवाका लागि करिव ४५ लाख सहयोग गरेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतका निमित्त मेसु डा. डम्बर खड्काले जानकारी दिए । सघन उपचार कक्ष (आइसीयू) को उद्घाटन स्व. नन्दबहादुरका श्रीमति थीरकुमारीले गरेकी थिइन् ।

‘लामो प्रयासपछि हामीले आइसीयू सेवा शुरु गर्न सफल भएका छौं’ मेसु खड्काले भने,–‘यसै क्षेत्रका नागरिक जो कम आयस्रोत भएकाहरुलाई अस्पतालमै सेवा दिन सफल भएका छौं’ निमित्त मेसु खड्काले भने,–‘दुई वर्षदेखी हामीले भौतिक संरचना निर्माणदेखी आवश्यक सामग्री जुटाउन लाग्यो र यो आर्थिक वर्षबाट सेवा दिन थालेका छौं, दातालाई हार्दिक धन्यवाद दिन चाहान्छु ।

सघन उपचार कक्षमा विष सेवन, हटहट्याक, उच्च रक्तचाप लगायतका विरामीहरुलाई तत्कालै अस्पतालमै सेवा दिन सकिने खड्काको भनाई छ । अस्पतालको विकासमा खटिरहेको क्षेत्रीय अस्पताल विकास समिति र त्यहाँ कार्यरत चिकित्सकहरुले आइसीयू कक्षको शुभारम्भ पश्चात् गम्भीर प्रकृतिका विरामी उपचारार्थ बाहिर पठाउनु पर्ने बाध्यताको अन्त्य भएको बताए ।

आइसीयू कक्षमा उपचार गर्ने विरामीले प्रति वेड एक हजार दुईसय रुपैया तिर्नुपर्नेछ । आइसीयू कक्षमा चार वेड छन् । यो कक्षको उद्घाटन नहुनु अगावै ६० बढी विरामीलाई अस्पतालले सेवा लिइ सकेका छन् । नेपालकै उत्कृष्ट अस्पताल बनाउन लागिरहेको बताएका डा. खड्काले अस्पताल एक्लैले मात्र विकास गर्न नसक्ने भन्दै आगामी दिनमा रचनात्मक सहयोगको अपेक्षा राखेका छन् ।

उद्घाटन कार्यक्रममा क्षेत्रीय प्रसाशक महेन्द्रप्रसाद गुरागाईले अब अस्पताल क्षेत्रीय अस्पतालको रुपमा मात्र सिमित नरहेर केन्द्रीय अस्पतालमा विस्तार गर्न सुझाव दिए ।

प्रदेश ६ का विपन्न समुदायका नागरिकहरुले आफ्नै क्षेत्रमा कम खर्चमा उपचार सेवा पाउने बताएका गरागाईँले सेवा विस्तार गर्नु ठुलो पक्ष नभएकाले गणस्तरिय स्वास्थ्य सेवा दिन आग्रह गरे ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले अस्पतालको सेवा विस्तारसंगै आइ.सी.यु.ले अस्पतालको विकासमा महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए । वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकालले क्षेत्रीय अस्पतालको विकासका लागि नगरपालिकाले प्राथमिकतामा राखेको बताइन् ।

सुविधा सम्पन्न अस्पतालमा बनाउन नगरपालिका जहिले पनि सहयोग गर्न आतुर रहेको प्रतिवद्धता जनाइन् । अस्पताल विकास समितिका सदस्य पूर्णप्रसाद पौडेलले लामो प्रयास पछि अस्पतालमै आइसीयू सेवा विस्तार गर्न सफल भएको बताए ।

आइसीयू सेवा शुरु भएसंगै यस क्षेत्रका विपन्न समुदायका नागरिकले सस्तो र सुलभ सेवाको पहूँच पु¥याउन सफल भएको उल्लेख गरे ।