☰ open Loading... 18 April 2024|  

मप विश्वविद्यालयमा जारी आन्दोलनलाई अनेरास्ववियूको समर्थन
  | २८ श्रावण २०७४, शनिबार १७:२०

सुर्खेत । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन सुर्खेतले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा जारी आन्दोलनको समर्थन गरेको छ । अनेरास्ववियू सुर्खेतको वीरेन्द्रनगरमा शनिवार बसेको पूर्ण बैठकले विद्यार्थीका माग पूरा नभएसम्म आन्दोलनलाई थप सशक्त पार्ने निर्णय समेत गरेको हो ।

बैठकले मध्यपश्चिमाञ्चल विश्वविद्यालयले नीजि कलेजलाई दिन लागेको सम्वन्धनको प्रक्रिया तत्काल खारेज गर्न निर्णय समेत गरेको अनेरास्ववियू सुर्खेतका अध्यक्ष धुपेन्द्र शाहीले जानकारी दिए । उनले जनताको त्याग र तपस्याबाट स्थापना भएको विश्वविद्यालयमा पदाधिकारीको दादागिरीले शैक्षिक क्षेत्रमा वेथिति निम्त्याउन खोजेकोमा आपत्ती जनाए ।

सम्वन्धनको प्रक्रिया तत्काल खारेज नगरे आन्दोलनका थप कार्यक्रम घोषणा गरेर अगाडी बढ्ने निर्णय गरेको शाहीको भनाई छ । साथै, संयुक्त विद्यार्थीले विश्वविद्यालयमा लगाएको ताला रजिष्ट्रारको ठाडो निर्देशनमा गुण्डागर्दीशैलीमा ताला खोलेकोमा बैठकले खेद प्रकट गरेको शाहीले जनाए ।

शाहीले विश्वविद्यालयलाई संयुक्त विद्यार्थीका मागलाई सम्बोन्धन गर्न वार्ता र सम्वादबाट निकास दिन आग्रह गरेका छन् । बैठकमा नेकपा एमालेका केन्द्रीय पोलिटव्यूरो सदस्य प्रकाश ज्वाला, नेकपा एमाले सुर्खेतका उपाध्यक्ष अमृत विसी, पूर्व राष्ट्रिय प्रतिनीधि परिषद् सदस्य कृष्ण विसी, अनेरास्ववियूका केन्द्रीय सदस्य डम्बर सिंह, अनेरास्ववियू लेखा आयोगका सदस्य भुपेन्द्र शाही लगायतको उपस्थिती थियो ।