सुर्खेत । पुरानोशैलीबाट समृद्ध मुलक निर्माण गर्न नसकिने विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले बताएका छन् । प्रदेश नम्बर ६ स्तरीय विवेकशील साझा पार्टीको संगठन विस्तार गर्न आयोजित भेलालाई सम्बोधन गर्न सुर्खेत आइपुगेका संयोजक मिश्रले पुरानैशैलीमा अभ्यस्त भएका कारण आफूले आफैलाई सोध्न नसक्दा समृद्ध मुलुक निर्माण हुन नसकेको बताएका हुन् ।
देशको रुप र स्वरुप अस्वचनिय रुपमा बदलिन्छ भन्ने प्रश्न गर्न नसक्नु र आफू बन्ने सोच हुनुले मुलुक बन्न नसकेको टिप्पणी मिश्रको छ । उनले अविकास स्वीकार गरेर व्यक्तिको सफलता ठुलो मानेकै कारण देश जहाँको त्यही रहेको उल्लेख गरे ।
विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य रञ्जु दर्शना न्यौपानेले वर्षौदेखी नेताहरुले सपना बाडेपनि विकास गर्न नसकेको आरोप लगाउनु भयो । उहाँले बारम्बार भोट, नोट उही भ्रष्ट नेतालाई दिएकै कारण देशको यो हालतमा पुगेको बताए ।
सहभागितामुलक लोकतन्त्र किताबको पानामा मात्रै सिमित भएको उल्लेख गर्नु भएको दर्शनाले आफूहरु व्यवहारमा उतार्न अभ्यास र राजनीतिक सुसंस्कार बदाल्न आएको जिकिर गरे । विवेकशील साझा पार्टी प्रदेश नम्बर ६ को संयोजकमा गेहन्द्रप्रसाद दाहाललाई जिम्मेवारी दिएको छ ।