गुटु (सुर्खेत) । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकामा फोनले काम नगर्दा सेवाग्राहीले सास्ती झेल्नु परेको छ । विगत १५ दिनदेखी पश्चिमका दुई स्थानीय तहका नागरिकहरुले मोवाइलमा नेटवर्क नआउने समस्याले सास्ती भोग्न बाध्य भएका हुन् ।
सोलार सिस्टमबाट चलेको नेपाल टेलिकम र एनसेलका टावरहरुमा वर्षातमा घाम नलाग्दा सेवाग्राहीले रातको समयमा सञ्चार विच्छेद हुने गरेको छ । पश्चिमका लगाम, वेतान, विजौरा, घाटगाउँ, छाप्रे, पोखरीकाडाँ, सालकोट, वावियाचौर, तातापानी, गुटु लगायतका ठाउँमा रातको समयमा मोवाइलमा नेटवर्क नआउने गरेको स्थानीय बताउँछन् ।
छाप्रेको निगलपानी स्थित नेपाल टेलिकमको रिपिटर टावरमा लामो समयदेखी सोलार व्याट्री चार्ज नहुँदा ति ठाउँहरुमा बादल लागेपछि फोन सेवा प्रभावित हुने गरेको छ । विद्युतको केन्द्रीय प्रसारण लाइन पश्चिम क्षेत्रमा विस्तार नभएका कारण वर्षातमा त्यस क्षेत्रका नागरिकले फोन सेवाबाट बञ्चित हुँदै आएका छन् ।
मोवाइलमा नेटवर्क नआउँदा रातीको समयमा कोही विरामी भएमा एम्बुलेन्सलाई बोलाउन र आफन्तसंग कुरा गर्न समस्या हुने गरेको गुटुका स्थानीय कलाधर सापकोटाले बताए ।
मोवाइलमा नेटवर्क नआउने समस्या नयाँ नभएको बताउँदै उनले लामो समयदेखी समस्या झेल्दै आएको उल्लेख गरे । ‘जनताको पीडा कसैले बुझ्दैनन्’ सापकोटाले भने,–‘बारम्बार यस्तो समस्या झेल्दा पनि नियमित नेटवर्क तर्फ कसैको ध्यान पुगेको छैन् ।’
यता, नेपाल टेलिकम दुरसञ्चार कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख विमल पोखरेलले रिपिटर टावरमा लामो समयसम्म जेनेरेटर मार्फत चार्ज दिन नसक्दा फोन सेवा प्रभावित भएको बताए ।
उनले टेलिकमका पश्चिम क्षेत्रमा रहेका टावरहरुमा केन्द्रीय विद्युत नपुग्नुले सेवाग्राहीले वर्षातमा समस्या झेल्नु परेको जानकारी दिए । ‘निगलपानीस्थित रिपिटर टावरमा लामो समयसम्म जेनेरेटर सञ्चालन गर्न सकिदैन्’ पोखरेलले भने,–‘सोलर ब्याट्री पटक–पटक फेर्दा पनि वर्षातमा ब्याट्रीलाई आवश्यक पर्ने घामका किरण कम हुँदा फोन प्रभावित हुने गरेको छ ।’
सोलर र जेनेरेटर बाहेक अन्य विकल्प नभएकाले वर्षातमा यस्तो समस्या आउने गरेको उनले उल्लेख गरे ।