☰ open Loading... 17 November 2024|  

संशोधन असफल हुँदा भारतमा प्रधानमन्त्रीले बोल्नु गलत : प्रचण्ड
  | ९ भाद्र २०७४, शुक्रबार १७:५३

सुर्खेत । संविधान संशोधन नेपालको आन्तरिक मामिला भएकाले भारतका प्रधानमन्त्री समक्ष बोल्नु गलत भएको टिप्पणि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । नेकपा माओवादी केन्द्र ६ नम्बर प्रदेशको बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आएका अध्यक्ष प्रचण्डले नेपालको संविधान सभामा असफल भइसकेको विषयमा पुनः भारत भ्रमणको क्रममा संशोधन गर्न सकिन भन्नु गलत भएको बताएका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले नेपालको आन्तरिक विषय पुनः दलहरुसंग छलफल गरेर संशोधन प्रस्ताव ल्याउन सकिने मार्गदिशा हुँदाहुँदै भारतमा पुगेर प्रधानमन्त्रीले बोल्नु गलत भएको उल्लेख गरे ।

यो वर्ष निर्वाचन वर्ष भएकाले आगामी मंसिर १० गते संघ र प्रदेशको निर्वाचन एकै चरणमा हुनेमा आफूहरु विश्वस्त रहेको अध्यक्ष प्रचण्डले बताए । मौसमको प्रतिकुलताका कारण एकै चरणमा नभएर दुई चरणमै निर्वाचन सम्पन्न गर्दा पनि आफ्नो पार्टीलाई मान्य हुने उनको भनाई छ ।

देशका सवै राजनीतिक दलहरु चुनावी माहोलमा केन्द्रित भइरहेका बेला सामन्ती र प्रतिक्रियावादी शक्तिहरु चुनाव हुन नदिने खेलमा लागेको प्रचण्डले खुलासा गर्नुभयो । उहाँले कुनैपनि हालतमा त्यो शक्ति सफल नहुने र आफै पतन हुने बताए ।

अस्थिर राजनीतिले नेपालले सोचे जस्तो विकास गर्न नसकेको भन्दै अध्यक्ष प्रचण्डले कार्यकारी राष्ट्रपति हुनु पर्छ भन्ने अडानमा आफूहरु रहेको स्पष्ट पारे ।

प्रदेश ६ का १० जिल्लाका पार्टी अगुवा नेता तथा कार्यकर्ता सहभागी रहेको प्रशिक्षण भेलामा नेकपा माओवादी केन्द्रका संगठन विभाग प्रमुख रामबहादु थापा बादल, केन्द्रीय कार्यालय सदस्य नारायणकाजी श्रेष्ठ, पूर्वगृहमन्त्री तथा प्रदेश ६ का ईन्चार्ज शक्ति बस्नेत लगायतले प्रशक्षिण दिएका थिए ।