☰ open Loading... 17 November 2024|  

स्थानीय सरकार भष्टाचारमुक्त बनाउने सुर्खेतका जनप्रतिनीधिकाे प्रतिवद्धता
  | ११ भाद्र २०७४, आईतवार १७:१९

सुर्खेत । स्थानीय सरकार भष्टाचार मुक्त बनाउने सामुहिक प्रतिवद्धता सुर्खेतका जनप्रतिनिधिहरुले जनाएका छन् । गैर सरकारी महासंघले आइतवार वीरेन्द्रनगरमा आयोजना गरेको निवार्चित जनप्रतिनिधिहरुलाई नागरिक सम्मान कार्यक्रममा उनीहरुले सामुहिक रूपमा स्थानीय सरकारलाई सुशासन कायम गर्ने र भष्टाचार मुक्त बनाउन प्रतिवद्धता जनाएका हुन् ।

जनप्रतिनिधिमा संघीय लोकतन्त्र बचाउन र आ-आफ्नो क्षेत्रमा सुशासन कायम गरी भष्टाचार मुक्त क्षेत्र बनाउने जिम्मेवारी थपिएको कार्यक्रमका प्रमुख अथिति समेत रहेका उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश महेश शर्मा पौडेलले बताए । उनले प्रदेश नम्बर ६ लाई भष्टाचार मुक्त प्रदेश बनाउन जनप्रतिनिधिहरुको ठुलो भुमिका रहने उल्लेख गरे । जनतासंगको सहकार्य र समन्यवमा सबै प्रतिनिधिहरुले आ-आफ्नो क्षेत्रमा सुशासन कायम गर्नुपर्नेमा जोड पाैडेलकाे थियाे ।

जिल्ला समन्यव समितिका संयोजक छविलाल सिग्देलले आफ्नो मुखी नभई जनमुखी भएर काम गर्ने प्रतिवद्धता जनाए । सुर्खेत जिल्ला प्रदेश नम्बर ६ को सम्भावित राजधानी भएकाले जिल्लालाई भष्टाचार मुक्त जिल्लाको रुपमा स्थापित गरी नमुना प्रदेश बनाउन जनप्रतिनिधिको अहम भुमिका रहेको सिग्देलकाे भनाइ थियाे ।

वीरेन्द्रनगर नगलपालिकाका उपप्रमुख मोहनमाया ढकालले जनतासंग भोट माग्दा पार्टीको आ आफ्नै घोषणा पत्र भए पनि अब जिल्लालाई भष्टाचार मुक्त बनाउनमा सबै जनप्रतिनिधि एक हुन अावश्यक रहेकाे अाैल्याइन् । स्थानीय सरकारलाई भष्टाचार मुक्त र बलियो बनाउन जनतासंगको सहकार्य र समन्यवको खाचो रहेको बताएकी ढकालले भष्टाचाररहित समाज निमार्णमा आफु सधै प्रतिवद्ध रहेको उल्लेख गरिन् ।

नागरिक सम्मान कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले स्थानीय सरकारले पूर्ण रुपमा अधिकार पाएकोले जिल्लालाई भष्टाचार मुक्त जिल्ला बनाउन भुमिका पनि जनप्रतिनिधिकै रहेको बताए । साथै कार्यक्रममा चार गाउँपालिका र पाँच नगरपालिकाका प्रमुख तथा उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षहरूलाई सम्मान र सम्वन्धित गाउँ तथा नगरपालिकाकाे नक्सा हस्तान्तरण गरिएकाे थियाे ।