सुर्खेत । प्रदेश नम्बर ६ मा शिक्षा र स्थानीय विकासमा सवैभन्दा बढी भ्रष्टाचार हुने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले बताएको छ । हालसम्म गरेको कामहरुको प्रगति विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा कार्यालयले सवैभन्दा बढी उजूरी शिक्षा, संघीय मामिला तथा स्थानीय विकास र वन तथा भू–संरक्षणका रहेको जानकारी दिएको हो ।
आयोगको सुर्खेत स्थित कार्यालय परेका ६ सय ३३ उजूरी मध्य शिक्षामा २६३, स्थानीय विकासमा १२१ र वन तथा भू–संरक्षणमा ६० वटा छन् । यी मध्य शिक्षाका १७८, स्थानीय विकासका ७१ र वन तथा भू–संरक्षणका ६० उजूरी फछ्र्यौट गरेको कार्यालयले सार्वजनिक गरेको छ ।
कार्यालयमा परेका ६ सय ३३ उजूरी मध्य ३ सय ९३ उजूरी फछ्र्यौट गरेको छ भने २ सय ४० उजूरी फछ्र्यौट हुन बाँकी छन् । गत वर्ष कार्यालयले ५ वटा अभियोग पत्र दायर र ३ जनालाई घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको थियो ।
प्रारम्भिक छानविन र विस्तृत अनुसन्धानबाट गरी ३७ लाख ४० हजार पाँचसय ६५ रुपैयाँ असुल उपर गरेको प्रतिवेदन आयोगका सूचना अधिकारी तथा शाखा अधिकृत मेघनाथ सापकोटाले प्रस्तुत गरेका थिए ।
सार्वजनिक पदमा बसेको व्यक्तीले अनुचित कार्य गरेमा तत्काल छानविनको दायरामा ल्याउन आफूहरु लागि परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका प्रमुख रविलाल पन्थले बताए । उनले अख्तियार एक्लैले मात्र केही गर्न नसक्ने भन्दै भ्रष्टाचार निर्मुल पान सवैको साथ आवश्यक रहेको उल्लेख गरे ।