☰ open Loading... 17 November 2024|  

हिउद न वर्षात डुंगाको यात्रा
  | १२ भाद्र २०७४, सोमबार १९:५५

पञ्चपुरी (सुर्खेत) । सदरमुकाम वीरेन्द्रनगरदेखी पश्चिम सुर्खेतमा पर्ने तातापानीका नागरिकहरु दैनिक भेरी नदीमा डुंगाको यात्रा गर्न बाध्य छन् । भेरी नदीमा पक्की र झोलुंगे पुल नबन्दा यहाँका नागरिकहरु दैनिक डुंगाको यात्रा गर्न बाध्य भएका हुन् ।

पञ्चपुरी नगरपालिका वडा नम्बर १० र ११ का नागरिकहरु दैनिक भेरी नदी तर्दा जोखिममा डुंगा यात्रा गरिरहेका छन् । साविकको तातापानी गाविसका नार्सी, जामु, गल्फाका नागरिकहरुका लागि पक्की वा झोलुंगे पुल नहुँदा बर्षौदेखी सदरमुकाम वीरेन्द्रनगर आउन र घर फर्किन जोखममा डुंगाको यात्रा गरिरहेका छन् ।

हिउद न वर्षात्मा भेरी नदीमा जोखिमको यात्रा गर्न बाध्यहुँदा पुल निर्माणको कार्यलाई तिव्रता नदिएको स्थानीय रतन विष्टको गुनासो छ । ‘पुल निर्माणको काम शुरु भएको छ कहिले बन्ला र हामीलाई डुंगामा यात्रा गर्नु पर्ने बाध्यताको अन्त्य होला’ विष्टले भने,–‘एक दिन हैन दुई दिन हैन वर्षौदेखी भेरी नदीमा ज्यानको बाजी राखेर यात्रा गर्न बाध्य छौं ।’

भेरी पारीको वस्ती तातापानीमा जोड्ने एक मात्र झोलुंगे पुल ०७१ सालको बाढीले बगाएपछि यहाँका नागरिकहरु डुंगाको साहरामा भेरी नदी तर्ने गर्छन् ।

नदी तर्ने अन्य विकल्प नहुँदा दैनिक उपभोग्य वस्तु ढुवानी तथा अन्य कामका लागि सदरमुकाम आवत जावत गर्नमा ज्यान जोखिममा पारेर यात्रा गर्नु परेको स्थानीय देवीराम धमला बताउँछन् । जिल्ला समन्वय समितिले डुंगा सञ्चालनका लागि हरेक वर्ष ठेक्का आह्वान गर्दै आएको छ । ठेक्काबाट सञ्चालन भएको डुंगामा दैनिक एकतर्फी एक सय रुपैया भाडा तिरेर तर्नु परेको स्थानीयको दुखेसो छ । पञ्चपुरी नगरपालिकाको बावियाचौर र तातापानी जोड्न भेरी नदीमा पुल निर्माण कार्य जारी छ ।

तर यहाँका नागरिकहरुले पुलबाट यात्रा गर्न अझै डेढ वर्ष कुर्नु पर्नेछ । गाउँमा भरपर्दो उपचार सेवा छैन् थप उपचारका लागि बाहिर जाउँ भन्दा भेरी नदी बाधक छ’ धमला भन्छन्,–‘सासंद् तप्तबहादु विष्टलाई यहीबाट चुनेर पठायौं जनताका लागि भनेजस्तो काम गर्न सक्नु भएन्, निर्माणाधिन पुल कहिले बन्ला र सहजै यात्रा गर्न पाइएला ।’ वर्षातमा डुंगाबाट यात्रु तार्दा निकै जोखिम हुने गरेको छ ।

नदीको एक किनारादेखी अर्को किनारासम्मको दुरी एक किलोमिटरभन्दा बढी छ । तर वर्षातमा उर्लदो भेरीमा डुंगा भनेको स्थानमा यात्रुहरुलाई तार्न समस्या हुने गरेको डुंगा सञ्चालक बताउँछन् । यो बाहेक अन्य विकल्प छैन्, डुंगा तार्दै गर्दा कहिले काँही पाँच किलोमिटर तल भेरी नदीको किनारामा लाग्ने गरेको धमलाले बताए ।