☰ open Loading... 18 November 2024|  

विरोधकै विच तीन क्याम्पसलार्इ दियाे विश्वविद्यालयले सम्वन्धन
  | १३ भाद्र २०७४, मंगलवार २०:१७

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले विरोधकै विच तीन क्याम्पसलाई सम्वधन दिने निर्णय गरेको छ । विश्वविद्यालय विस्तारित कार्यालयमा मंगलवार पत्रकार सम्मेलन गरेर पदाधिकारीहरुले गत साउन २९ गते कार्यकारी परिषद्ले योग्य भएका तीन क्याम्पसहरुलाई सम्बन्धन दिने निर्णय गरेको जनाएकाे हो ।

विश्वविद्यालयका कुलपति प्रा.डा. उपेन्द्र कोइरालाले अवको १० दिनभित्र सम्बन्धनका लागि आवेदन दिएका तीन क्याम्पसहरुसंग सम्झौता गर्न लागेको जानकारी दिए । उनले कानुन अनुसार विधि पु¥याएरै सम्वन्धन दिएको दावी गरे । पत्रकारप्रति निकै आक्रामक भएका उपकुलपति कोइरालाले विश्वविद्यालयको विकास र हकहितकै लागि सम्बन्धन दिने निर्णय गरेको जिकिर गरे ।

विश्वविद्यालयका ऐन, दफा, उप–उफा र नीति नै अघि राखेर पत्रकारप्रति आक्रामक भएका उपकुलपतिले जति पनि काम गरिएको छ विश्वविद्यालय र यसै क्षेत्रका जनताको हितको लागी गरिएको दावी गरे । विश्वविद्यालयले इन्जिनियरिङ्गतर्फ नेपाल इन्जिनियरिङ्ग क्याम्पस भक्तपुर तथा व्यवस्थापनतर्फ प्रेसिडेन्सियल कलेज अफ बिजनेस, काठमाडौं र ग्लोबल कलेज इन्टरनेश्नल, काठमाडौंसंग सम्झौता हुन लागेको कोइरालाले जानकारी दिए ।

योजना, विकास र अनुगमन निर्देशनालयले उपकलपुति समक्ष सम्भाव्यता अध्ययनको क्रममा योग्य भएकाले सम्बन्धन सम्वन्धी कार्यविधि २०७४ को दफा ४ अनुसार विज्ञसहितको टोली छानविन गरेको र मुल्यांकनका आधारमा सम्वन्धन दिन विश्वविद्यालयको कार्यकारी परिषद्ले निर्णय गरेको कोइरालाको दावी छ । सम्वन्धन दिन नहुँने भन्दै सुर्खेतका केही राजनीतिक दल र विद्यार्थीहरु आन्दोलनरत छन् ।

इन्जिनियरिंग संकायका डिन आफै सम्पर्कविहिन भएपछि सहायक डिन वीरेन्द्र खड्कालाई डिन सरह काम गर्ने अनुमति दिने कानुनी प्रावधान अनुसार जिम्मेवारी दिएको कोइरालाले जानकारी दिए । उनले बाहिर मिडियामा आए जस्तो नभएको जिकिर गरेपनि पत्रकारले सहायक डिनको नियुक्ती प्रक्रियाका कागजपत्र देखाउन आग्रह गर्दा दिन नमिल्ने भन्दै पन्छिए ।