लक्ष्मी भण्डारी
सुर्खेत । गत वर्ष श्रीमान्को कुटाइबाट घाइते भएकी गुर्भाकोट नगरपालिकाकी रमा बिकले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी गरिन्, श्रीमान्लाई कारबाही गरेरै छाड्छु’ भन्ने अठोट बोकेकी रमाको अगाडि प्रहरीले श्रीमान्लाई उभ्याएर सोधपुछ ग¥योे । सोधपुछको क्रममा सोधिएको प्रश्नले उनलाई चुप लाग्न बाध्य बनायो ।
एकैछिन अघिसम्म कारबाही गर्ने अडान लिएकी रमा प्रहरीको सोधपुछमा चुपचाप बसिन् । यसरी बस्नुको कारण थियो श्रीमान्प्रतिको माया । उनी रक्सी खाएर दिनदिनै कुटपिट गर्ने श्रीमान्लाई कारबाही नगर्ने निर्णयमा पुगिन् । त्यसका लागि उनले बयान फेरिन् । उनले भनिन्, ‘श्रीमान्लाई कारबाही हुनुपर्छ भनेर उजुरी दिएँ, तर प्रहरीको अगाडि श्रीमान्लाई उभ्याउँदा उहाँका गल्तीहरू सबै बिर्सिएँ ।’ उनी भन्छिन्, ‘प्रहरी कार्यालयमा पुग्दा आखिर श्रीमान् नै हुन् भनेर मन परिवर्तन भयो ।’ त्यसपछि उनले मिलापत्रको विकल्प रोजिन् ।
वीरेन्द्रनगरकी ३२ वर्षीया रामसरा विकका लागि श्रीमानले मदिरा नपिएको र आफूले कुटाइ नखाएको दिन थिएन । दिनभरि घरव्यवहारको झन्झट र साँझ मदिराको झोकको कुटाइले गर्दा शरीरका अङ्ग थिलथिला भएका थिए । जति कुटाइ खाए पनि चुपचाप सहँदै आएकी उनी वरपर छिमेकीले सोधेमा बिरामी भएको जवाफ दिन्थिन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७३÷७४ मा कार्यालयमा दर्ता भएका ३७२ वटा घरेलु हिंसाका घटना मध्ये ३६२ वटा मिलापत्र भएका छन् १० वटा घटनाका पीडक पक्ष सम्पर्कमा आएका छैनन् ।
तर, अति नै भएपछि माइतीको सहयोगमा प्रहरी कार्यालयमा उजुरी दिइन् । उजुरीपछि दुवै पक्षलाई प्रहरी कार्यालयमा छलफलमा बोलाइयो । दम्पती प्रहरी कार्यालयमा उभिएपछि रामसराले मिलेर घर जाने बताइन् । श्रीमानलाइ कारबाही हुनुपर्ने अडान राखेकी रामसराले यसो भनेपछि मुद्दाको प्रक्रिया त्यहीँ रोकिएको थियो ।
घरबाट चरम हिंसा भोगेर कारबाहीको माग गर्दै प्रहरीमा पुगेका अधिकांश महिला त्यहाँ पुगेपछि यसैगरी श्रीमान्सँग सम्झौता गर्न पुग्छन् । श्रीमान्लाई हिरासतमा लगेको देख्न नसकेर मिलापत्र गरी घर फर्किन्छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७३÷७४ मा कार्यालयमा दर्ता भएका ३७२ वटा घरेलु हिंसाका घटना मध्ये ३६२ वटा मिलापत्र भएका छन् १० वटा घटनाका पीडक पक्ष सम्पर्कमा आएका छैनन् ।
‘प्रहरीमा मुद्दा दिएपछि जागिर नै जान्छ, बरु छोराछोरीलाई कापीकलम किन्ने खर्च दिन्छु भनेर श्रीमानले फोन गरेपछि सुनितालाई मुद्दा दर्ता गराउन आँट नै आएन । उनी भन्छिन्, ‘श्रीमानले यसो भन्दा मलाई पनि ठीकै जस्तो लाग्यो । जे भए पनि श्रीमान् नै हुन् भन्ने सोचेर चुप लागेर बसेँ ।’
कार्यालयमा दर्ता भएका मुद्दाहरुमा शारीरिक यातानाका ४१, मानसिक यातनाका ९१, गाली बेइज्जतीका १०६ वटा छन् । त्यसैगरी लान्छना आरोप लगाएको ७६, खान लाउन नदिएको ३२ र अलपत्र र बेवास्ता पारेको २५ वटा घटना दर्ता भएको महिला सेल प्रमुख मञ्जु चोधरीले बताइन ।
घरपरिवारमा बरोबर भेट्न आउने र निरन्तर फोन गर्ने श्रीमानले पल्टन सर्नेबित्तिकै गुर्भाकोटकी २६ वर्षीया सुनितालाई वास्तै गर्न छाडे । सुरुमा कामले फुर्सद नभएको होला भन्ने सोचिन् । तर, लामो समयसम्म पनि पैसा पठाउन र फोन गर्न छाडेपछि सोधखोज गर्दा श्रीमान्ले दोस्रो विवाह गरेको थाहा पाइन् ।
सुरुमा त न्यायका लागि उनी मेलमिलापमा पुगिन् । त्यहाँ उनले कानूनी प्रक्रियाबारे जानकारी पाइन् । त्यसपछि प्रहरीमा उजुरी गर्ने निर्णयमा पुगिन् । यो थाहा पाएपछि उनका श्रीमानले फोनबाटै प्रहरीमा उजुरी नदिन दबाब दिए । ‘प्रहरीमा मुद्दा दिएपछि जागिर नै जान्छ, बरु छोराछोरीलाई कापीकलम किन्ने खर्च दिन्छु भनेर श्रीमानले फोन गरेपछि सुनितालाई मुद्दा दर्ता गराउन आँट नै आएन । उनी भन्छिन्, ‘श्रीमानले यसो भन्दा मलाई पनि ठीकै जस्तो लाग्यो । जे भए पनि श्रीमान् नै हुन् भन्ने सोचेर चुप लागेर बसेँ ।’
प्रहरीमा दर्ता भएका घरेलु हिंसाका धेरैजसो मुद्दा मिलापत्रमै टुङ्गिन्छन् । हिंसापीडित महिलाले प्रहरी कार्यालयसम्म उजुरी दर्ता गराए पनि मुद्दाको प्रक्रिया अघि बढेपछि वयान फेर्ने गरेको पाइन्छ । श्रीमान्लाई कारबाही प्रक्रियामै लैजाने सोचले उजुरी दिए पनि प्रहरी कार्यालयमा श्रीमान्लाई उभ्याउँदा उनीहरूको मन परिवर्तन हुने गरेको छ । अन्त्यमा महिलाहरु मिलापत्र गर्न राजी हुन्छन् ।
हिंसाका घटना सकभर गाउँमै मिलाइन्छन् । प्रहरीसम्म दर्ता भए पनि तिनको अन्तिम रूप भनेकै मिलापत्र हो । गत आर्थिक वर्षमा ४१० वटा घरेलु हिंसाका मुद्दा दर्ता भएका थिए ।
‘श्रीमानबाट पीडित महिला पीडा सहन नसकेर प्रहरीसम्म उजुरी गर्न जान्छन् । तर, प्रहरीमा पुगेपछि सामान्य सोधपुछकै क्रममा उनीहरूको मन पग्लिन्छ र आफ्नो बयान बदल्छन् ।’
जिल्ला प्रहरी महिला सेलकी प्रमुख चौधरीले महिला आफ्नो घरपरिवार र समाजको कारणले गर्दा नै हिंसा सहेर भए पनि मिलापत्रमा जान बाध्य हुने बताउछिन् । ‘कार्यालयमा दर्ता भएका मुद्दाबारे छलफल हुँदा पीडित महिलालाई हामीले सोध्याैँ भने उहाँहरूले नै मिलापत्रको विकल्प रोज्नुहुन्छ र मुद्दा यत्तिकैमा टुङ्गो लाग्छ,’ उनले भने, ‘कतिपयको मिलापत्र भए पनि फेरि घटना बल्झिन्छ, तर पनि महिला सहन बाध्य छन् र फेरि पनि मिलापत्रमै जान चाहन्छन् ।’
महिला आफैँमा आत्मनिर्भर नहुनाले पनि मिलापत्र गर्नुको विकल्प नरहेको स्थानीय शिक्षक चन्द्रावती खत्रीको भनाइ छ । ‘श्रीमान्कै कमाइमा भर परेका महिला श्रीमान्बाट छुट्टिँदा बेसहारा हुनुपर्ने भएकाले पनि हिंसा सहेर बस्ने गरेका छन्,’ उहाँले भन्नुभयो, ‘कतिपय महिला छोराछोरीका लागि पनि मरेरै पनि बाँचिरहेका हुन्छन् ।’
पितृ सत्तात्मक सोचका कारण महिला हिंसाका मुद्दाहरू कानुनी प्रक्रियामा जान नसकेको अधिवक्ता दुर्गा सापकोटाको कथन छ । उनी भन्नुछन, ‘जति हिंसा गरे पनि श्रीमान् नै हो भन्ने धारणा व्याप्त भएकाले यस्ता घटनामा मिलापत्र गर्ने प्रचलन बढी छ ।’ मिलापत्रमा सकिने हुँदा कमै मात्रामा जिल्ला अदालतमा मुद्दा दर्ता हुने गर्दछन् ।
महिला स्वभावतः कोमल हृदयका भएको हुनाले पनि आफू पीडित भए पनि श्रीमानसँग सम्झौता गर्न पुग्ने गरेको गुर्भाकोट नगरपालिकाका उपप्रमुख मैना विक बताउनुहुन्छ । उनी भन्छिन, ‘श्रीमानबाट पीडित महिला पीडा सहन नसकेर प्रहरीसम्म उजुरी गर्न जान्छन् । तर, प्रहरीमा पुगेपछि सामान्य सोधपुछकै क्रममा उनीहरूको मन पग्लिन्छ र आफ्नो बयान बदल्छन् ।’
यसको लागि महिला आर्थिक रुपमा सशक्त हुन जरुरी रहेको उनको भनाइ छ । नगरपालिकाले महिलाको आर्थिक सशक्तीकरणका नीति तथा कार्यक्रमहरु ल्याएको उपप्रमुख मैना बताउँछिन । आगामी दिनमा यसखालका समस्या कम हुने उनको विश्वास छ ।
(लेखक भण्डारी रासस सुर्खेतका समाचादाता हुन् ।)