☰ open Loading... 16 April 2024|  

कांक्रेविहार पुनर्निर्माण : समायावधि सकियाे काम भने अपूरै
  | १५ भाद्र २०७४, बिहीबार ०९:३८

सुर्खेत । लामो समयदेखी पुनर्निर्माण भइरहेको सुर्खेतको प्रमुख पर्यटकीय स्थल कांक्रेविहारको काम सुस्ताएको छ । गत जेठ मसान्तसम्ममा सम्पन्न गरिसक्नु पर्ने पुनर्निर्माण कार्य हालसम्म एक चौथाई मात्र काम भएको हो ।


०७२ असार ४ गतेदेखि निर्माण कार्यादेश पाएको सिद्धबाबा कन्ट्रक्सन प्रालिले पुनर्निर्माण ढिलाइ हुनुमा कालिगढको घरायसी व्यस्तता मुख्य समस्या रहेको जानकारी दिएको छ । भक्तपुरका कालिगढले ढुंगा कुँद्ने काम गर्दै आएका छन् । तोकिएको अवधिसम्म निर्माण सम्पन्न गर्न नसकेपछि कम्पनीले पुरातत्व विभागसमक्ष समय थपिदिन आग्रह गरेको थियो ।

कम्पनीका आग्रह अनुसार विभागले आगामी चैत्र मसान्तसम्मको लागि थप म्याद दिएको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए । थपिएको म्यादभित्र निर्माण सम्पन्न हुने दाबी गरे कुँवरको छ । ‘कालिगढको समस्या पनि छ । जेठ–असारमा धान रोप्न र, विभिन्न सांस्कृतिक मेलापर्वमा व्यस्त भएकाले काम ढिला हुन पुग्यो’ उनले भने, ‘अबको डेढ महिनाभित्र ढुंगा कुँद्ने र, बाँकी समयमा मन्दिर निर्माण सम्भव छ ।’ ८ करोड १८ लाख ३५ हजार ८ सय ७० रुपैया“ लागतमा काँक्रेविहारको पुनर्निर्माण भैरहेको छ ।

पुरातात्विक ढुंगा–मूर्तिका भग्नावशेषलाई जोडेर २१ दशमलब ५ मिटर अग्लो मन्दिर निर्माण गर्न लागिएको विभागका प्रवक्ता कु“वरले जानकारी दिए । भक्तपुरका ४ मूर्तिकारसहित २१ जना डकर्मीले पुरानो स्वरुप मिलाउनदेखि टुटे–फुटेका ढुंगा–मूर्तिलाई जोड्ने काम गर्दै आएका छन् । झण्डै ४ महिनादेखी कालिगढ बिदामा बस्दा पुनर्निर्माणको रोकिएको छ ।

पुरातत्वले वीरेन्द्रनगरको दक्षिणमा अवस्थित पुरातात्विक सम्पदा कांक्रेविहारको १८ वर्ष अघिदेखि उत्खनन् सुरु गरेको थियो । उत्खनन्पछि बुद्धका साथै सरस्वति, विष्णु, पद्म, शंख र रथका पांग्रा फेला परेका थिए । हिन्दु र बौद्ध दुवै धर्मावलम्बीले यसलाई उत्तिकै श्रद्धा गर्ने गर्छन् ।

त्यसैले बुद्धमूर्ति प्रतिस्थापन गर्ने विषयमा यहाँ हिन्दु–बौद्धबीच विवाद उत्पन्न भएको हो । विवादका कारण प्रतिस्थापन हुन नसक्दा उक्त मूर्ति जिल्ला प्रहरी कार्यालयको हातामा राखिएको छ । मन्दिर निर्माणपछि आन्तरिक तथा बाह्य पयर्टकहरुको संख्यामा वृद्धि हुने अपेक्षा छ ।

बौद्ध संस्कृतिका जानकार जीवनकुमार शाक्यले पुरानै शैलीमा बन्ने मन्दिरले कांक्रेविहारको मात्र नभै समग्र सुर्खेतकै शान बढाउने दाबी गरे । हाल कांक्रेविहारमा दैनिक सरदर ५० आन्तरिक तथा बाह्य पर्यटकहरुले अवलोकन गर्ने गरेका छन् । काँक्रेविहार भित्रै ६६ लाख ९३ हजारको लागतमा बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति काठमाडौंले पर्खाल निर्माण भने सम्पन्न गरेको छ ।