☰ open Loading... 22 December 2024|  

शैक्षिक गुणस्तर सुधार्न सिम्तामा वृहत् योजना बन्ने
  | १९ भाद्र २०७४, सोमबार १५:०३

सुर्खेत । पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकामा शिक्षा क्षेत्रको गुणस्तर वृद्धि गर्न वृहत् योजना निर्माण गरिने भएको छ । गाउँपालिकाअन्तर्गत शिक्षा क्षेत्रमा रहेको वर्तमान अवस्था, समस्या र चुनौति तथा समाधानका उपाय खोजी गरी भावी योजना निर्माण गरिने लागिएको हो ।

वृहत् योजना निर्माणभन्दा पहिला आफूहरुले सरोकारवालाहरुसँगको छलफललाई तिव्रता दिएको गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले जानकारी दिए  । गाउँपालिकाका अध्यक्ष केसी, जिल्ला शिक्षा कार्यालय सुर्खेतका जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाह, सिम्तामा रहेका दुईवटै श्रोत केन्द्रका स्रोत व्यक्ति र गाउँपालिकाका कार्यकारी अधिकृतले संयुक्त छलफल सम्पन्न गरेका छन् ।

वीरेन्द्रनगरमा गरिएको छलफलबाट भदौ २८ गते गाउँपालिकाको केन्द्र वजेडिचौरमा योजना तर्जुमा गोष्ठी गरिने निष्कर्ष निकालिएको छ । गोष्ठीमा गाउँपालिकाभित्रका ७२ वटा विद्यालयका प्रधानाध्यापकहरु, माद्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्षहरु र गाउँकार्यपालिकाका पदाधिकारीहरु सहभागि हुनेछन् ।

गोष्ठीमै स्रोत केन्द्रस्तरीय र गाउँपालिकास्तरीय प्रतिवेदन प्रस्तुत गरी छलफल गर्ने कार्ययोजना बनाइएको छ । यसैबीच,  आइतवार नै सिम्ता गाउँपालिकामा सरोकारवाला निकायसँग सूचनाको हक र सामाजिक परिक्षणका विषयमा अन्तक्र्रिया गरिएको छ ।

गाउँपालिकाको कार्यालयसँगको समन्वयमा सुन्दर नेपाल संस्था सुर्खेतअन्तर्गत पहल कार्यक्रमले अन्तक्र्रिया कार्यक्रम गरेको हो ।कार्यक्रमको अध्यक्षता गाउँपालिकाकी उपाध्यक्ष चन्द्रा शाहीले गर्नुभएको पहल कार्यक्रमका सुशासन अधिकृत टम चौधरीले जानकारी दिए ।