☰ open Loading... 23 December 2024|  

वैज्ञानिक वन व्यवस्थापनले सुध्रिदै सुर्खेतका जंगल
  | २० भाद्र २०७४, मंगलवार ०७:५२

सुर्खेत । पञ्चपुरी नगरपालिकाको माझीगाउँ सामुदायिक वन उपभोक्ता समितिले कहिल्यै राम्रो आम्दानी लिन पाएनन् । जंगलबाट काठ–दाउरा बाहेक घाँसबाट लाभ लिन नपाएपछि उपभोक्ताहरु अन्य सामुदायिक वनमा आश्रित हुनुपर्ने बाध्यता थियो । कारण, घाँस नहुनुमा वर्षौ पुराना धोर्दा रुख नै थिए ।

विद्यापुरस्थित माझीगाउँ सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएपछि भने उपभोक्ताहरुको आम्दानीको स्रोत बढेको छ ।

काठ–दाउरा बाहेक घाँस, खर तथा बावियो अन्य वनबाट किन्नुपर्ने झन्झटबाट मुक्त भएका छन् । सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लोकराज कुँवरले वर्षौं पुराना बांगा र धोर्दा काठहरु निकालेपछि सामुदायिक वनमा नयाँ विरुवा हुर्काउन र घाँस उत्पादनमा टेवा पुगेको बताए ।

‘कार्यक्रम लागू भएका सामुदायिक वनहरुमा कु–काठका नाममा सप्रिएका रुखहरु कटान हुन नदिन आफै निगरानी बढाएका छौं’ उनले भने, ‘मुख्य कुरा घाँस पुनरुत्पादनमा टेवा पुगेको छ । घाँस नहुँदा धेरै समस्या भोग्दै आएका थियौं ।’

माझीगाउँ मात्र होइन्, जिल्ला वन कार्यालयले लागू गरेका १७ सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनले विशेषगरी वनजन्य वस्तुको पुर्नउत्पादनमा ठूलो टेवा पु¥याएको छ । वर्षौ पूराना धोर्दा र कु–काठ निकालेर नया“ विरुवा हुर्काउन तथा घाँस उत्पादनमा टेवा पु¥याउने अपेक्षासहित कार्यक्रम लागु भएको हो ।

४ सय ३५ सामुदायिक वन रहेको सुर्खेतमा कार्यक्रम प्रभावकारी बनेको उपभोक्ताहरुको भनाई छ । पुराना रुखले नया“ विरुवा हुर्कन नदिएपछि सरकारले नै धोर्दा र कु–काठ निकालेर वनको आम्दानी बढाउन कार्यक्रम लागू गरेको जिल्ला वन अधिकृत हेमराज विष्टले जानकारी दिए ।

५ हजार ६७ हेक्टर क्षेत्रफलका ३ हजार ९५ घरधुरीका बासिन्दा प्रत्यक्ष लाभान्वित भएको उनको दावी छ । वर्षौ पूराना धोर्दा र कु–काठ हटाएर नयाँ विरुवा हुर्काउन आव ०७१/०७२ बाट कार्यक्रम लागू भएको हो । पहिलो आवमा जिल्लाका ७, दोस्रोमा ६ र गत आवमा ४ सामुदायिक वनमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

वैज्ञानिक वनबाट निकालिएका काठहरु पहिलो प्राथमिकतामा स्थानीय उपभोक्ता, त्यसपछि बाहिर बिक्री गर्ने व्यवस्था मिलाएको उनको भनाई छ । चुरे क्षेत्रभन्दा समथर भू–भागका सामुदायिक वनहरुमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बनेको पाइएको छ ।