☰ open Loading... 3 May 2024|  

बालबालिकामाथि हुने जोखिम अन्त्य गर्न एकजुट हुन जरुरी
  | २४ भाद्र २०७४, शनिबार १८:१५

सुर्खेत । बालबालिकाहरुमाथि हुने जोखिमको अन्त्य गर्न सवै सरोकारवाला निकाय गम्भीर हुने पर्ने बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) अध्यक्ष माधव प्रधानले बताएका छन् । बारम्बार बालबालिका माथि कुनै न कुनै किसिमका घटनाहरु हुने क्रम नरोकिएको भन्दै यसको अन्त्य गर्न सवैले हात्तेमालो गर्नु पर्ने बताएका हुन् ।

६ नम्बर प्रदेश स्तरिय बाल अधिकार सशक्तिकरण कार्यशालामा सहभागी हुन सुर्खेत आइपुगेका अध्यक्ष प्रधानले प्रदेश ६ भौगोलिक रुपमा विकट रहेकाले ग्रामिण वस्तीका बालबालिका उच्च जोखिममा रहेको उल्लेख गरे । लामो समयदेखी बालबालिका माथि हुने हिंसा अन्त्य गर्न सरकार समक्ष आग्रह गरेपनि गम्भीर नभएको उनको गुनासो थियो ।

उनले बालबालिका माथि हुने कुनै पनि हिंसा तथा जोखिमहरुलाई न्युनिकरण गर्न सवै पक्षलाई गम्भीर भइदिन आग्रह गरे । समाज जागरण केन्द्र (स्याक) नेपालका कार्यकारी निर्देशक समेत रहेका बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) का प्रदेश ६ का संयोजक टिकाराम आचार्यले बालबालिकाहरुका सवालमा स्थानीय तहका नगर तथा गाउँपालिकाहरुका जनप्रतिनीधिहरुसंग हात्तेमालो गरेर अघि बढ्न आवश्यक रहेको औल्याए ।

उनले बालबालिका माथि हुने जोखिम विरुद्ध बोल्न सरोकारवाला पक्षमात्र नभएर आम नागरिकहरुको साथ दिन आग्रह गरे । जोखिममा अझैपनि बालबालिकाहरु रहेको भन्दै सुधारत्मक प्रयास भएपनि ति अपूग नै रहेको आचार्यले उल्लेख गरे ।

कार्यशालाको उद्घाटन सत्रमा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जका अधिृकत टंक खनाल, गैरससका क्षेत्रीय अध्यक्ष खिमबहादुर शाही लगायतले बोलेका थिए ।

आइतबार समापन हुने कार्यशालामा बालबालिकाहरुको अवस्था, बाल अधिकार, स्थानीय तहका जनप्रतिनीधीहरुसंग कसरी समन्वय गर्ने र दिर्घकालिन योजनाका विषयमा छलफल हुनेछ ।

कार्यशाला दैलेख, जुम्ला, सल्यान, रुकुम, कालिकोटबाट बाल अधिकारकर्मीको सहभागीता छ । सेभ द चिल्ड्रेको आर्थिक सहयोग, समाज जागरण केन्द्र (स्याक) नेपालको समन्वय तथा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले कार्यशालाको आयोजना गरेको हो ।