सरकारले केन्द्र र प्रदेशको निर्वाचन घोषणा गरेसंगै दलहरु चुनावी गृहकार्यमा व्यस्त छन् । दलहरु कुन क्षेत्रमा कस्लाई उम्मेदवार बनाउदा संघ र प्रदेश आफ्नो पोल्टामा पार्न सकिन्छ भनेर मसिनो तरिकाले चुनावी रणनीति बनाइरहेको देखिन्छ । प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रले प्रचारात्मक भन्दापनि सुक्ष्म तवरले पार्टीका बैठक र भेलाहरु गर्दै चुनावी जोड घटाउ सुरु गरेको छन् । प्रदेश र केन्द्रको चुनाव मंसिर १० र २१ गते घोषणा गरेपछि आकांक्षी नेताहरु मतदातालाई प्रभावमा पार्न योजनावद्ध रुपमा गाउँ पस्ने गरी तयारीमा जुटेका छन् । चुनावको मिति घोषणा भएसंगै जिल्ला सदरमुकामहरुमा डेरा जमाएर बसेका अधिकाँस नेता कार्यकर्ताहरु गाउँ फर्किने तरखर गर्दैछन् ।’
दुई नम्बर प्रदेशको स्थानीय तहको चुनावपछि कांग्रेस गिर्दो मनोबल केही उच्च लिएर चुनावी मैदानमा सामेल हुनेछ भने माओवादी केन्द्रलाई समेत दुई नम्बर प्रदेशको चुनावी परिणामले केही उत्साहित गराउने छ । प्रदेश नम्बर २ मा भएको हारको समीक्षा संग–संगै नेकपा एमाले चुनावी मैदानमा उत्रने छ । प्रदेश नम्बर २ का प्रतिनीधि सभामा रहने ३३ सीटलाई घटाउदा बाँकी रहने १३२ सीट कसरी कब्जामा लिने, यो रणनीति एमालेको चालु केन्द्रीय कमिटी बैठकले बनाउने छ । प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकाबाट फर्केपछि थप रणनीति बनाई आक्रामक रणनीति बनाई कांग्रेस चुनावी रणभुमिमा सामेल हुनेछ ।
उम्मेदवार छनौटमा कम विवाद हुने आकलन गरिएको माओवादी केन्द्र दिनहुँ जसो सर्वसम्मत उम्मेदवार चयनमा लागिरहेको छ । सुर्खेत जिल्लामा प्रदेश १ मा पार्टी सचिव ठम्मर विष्ट, २ मा युवा नेता जीतबहादुर राना, ३ मा चलचित्र विकास बोर्डका पुर्व अध्यक्ष गणेश भण्डारी र ४ मा युवा नेता विन्दमान विष्टलाई प्रदेश सभासद् उठाउने लगभग टुंगो लगाईसकेको केन्द्रले प्रतिनीधि सभाका लागि क्षेत्र नं. १ बाट जिल्ला संयोजक कृष्ण जिसी ‘जितेन्द्र’ र २ बाट पुर्व सभासद् नरबहादुर विष्टका नाममा सहमति खोज्ने प्रयास गर्नेछ ।
नेकपा एमाले सुर्खेतले हालसम्म कुनैपनि उम्मेदवार छनौट सम्बन्धी छलफल र बहस नगरेतापनि प्रदेश नम्बर १ बाट पार्टी सचिवालय सदस्य ऐनबहादुर चन्द र युवा परिषद सुर्खेतका अध्यक्ष टेकेन्द्रकुमार बस्नेत, २ बाट निर्माण व्यवसायी एवम् पुर्व गाविस अध्यक्ष खड्क खत्री, शिक्षक महासंघका केन्द्रीय सचिव धनसिंह खड्का र कृषि क्षेत्रमा उदाहरणीय काम गरि कल्याण क्षेत्रको समृद्धिमा उल्लेखनिय भुमिका खेलेका देव राना, ३ बाट मुख्यमन्त्रीको प्रस्ताव सहित प्रदेश सह–संयोजक यामलाल कंडेल र ४ नम्बरबाट पार्टी सचिव मोहनसिंह बडुवाल, पुराना वामपन्थी नेता हेमप्रकाश भुसाल, गैर–सरकारी संस्थामा लामो अनुभव भएका हरिप्रसाद अधिकारी, शिक्षा क्षेत्रमा संग्लन युवा नेता धनश्याम पाण्डे र इन्द्र खत्रीका नाममा सहमतिको प्रयास गर्नेछ भने प्रतिनीधि सभाका लागि क्षेत्र नम्बर १ बाट पार्टी अध्यक्ष ध्रुवकुमार शाही र डण्डीप्रसाद शर्मा र क्षेत्र नम्बर २ बाट प्रदेश सदस्य नवराज रावत, झुप्रा खानेपानीका अध्यक्ष कुलमणी देवकोटा र राष्ट्रिय हित सुरक्षा विभागका सदस्य शिवप्रसाद उपाध्याय मध्यबाट उम्मेदवार टुंग्याउने छ ।
अघिपछि जतिसुकै विवाद देखिएतापनि उम्मेदवार चयन भईसकेपछि एक ढिक्का भई चुनावमा जाने नेपाली कांग्रेसले प्रदेश नम्बर १ बाट कोषाध्यक्ष अन्नत पौडेल, पार्टी उप–सभापति टेकबहादुर सिंह, सभासद् लालबहादुर घले र शिक्षा क्षेत्र संग–संगै राजनीतिमा प्रवेश गर्न लागेका नरेश ढकाल, २ नम्बरबाट लामो समय नेता पुर्णबहादुर खड्काको स्वकीय सचिव भई काम गरेका रामबहादुर सिंह, तरुण दल सुर्खेतका अध्यक्ष भई सकेका वेदु गिरी, लामो समय शिक्षा क्षेत्रमा संलग्न झकबहादुर डाँगी र ३ नम्बर प्रदेशको लागि मुख्यमन्त्रीका लागि प्रस्तावित भए सांसद हृदयराम थानी, पार्टी सभापति कमलराज रेग्मी र पुराना इमान्दार नेता डम्बर जिसी, ४ नम्बर प्रदेशका लागि सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टलाई प्रदेश सभाका लागि उम्मेदवार बनाउने छ भने प्रतिनीधि सभाका लागि क्षेत्र नं. १ बाट सांसद पुर्णबहादुर खड्का र २ बाट हृदयराम थानी या शिवराज जोशी मध्य एक जनालाई चयन गर्नेछ ।
यसरी हेर्दा पुराना एवम् राजनीतिमा हालिमुहालि गरिरहेका नेताहरुकै यसपटकपनि वर्चश्व रहने र सामान्य रुपमा मात्रै युवाहरुले अवसर पाउने देखिन्छ ।
‘चुनावका लागि हामी तयारीमै छौं,’ कांग्रेस सभापति कमलराज रेग्मीले भने, ‘पार्टी केन्द्रको निर्देशन बमोजिम काम गरिरहेका छौँ । गाउँमा पार्टी कार्यकर्तालाई संगठन विस्तार र चुनाव जित्ने तयारी गर्न परिचालन गरेका छांै ।’ प्रदेशका चार क्षेत्र र केन्द्रको दुवै क्षेत्रमा चुनाव जित्ने तयारी साथ प्रचार–प्रसारमा भईरहेको जानकारी दिए । हाल प्रचार–प्रसार देखि लिएर उम्मेदवारको टुंगो लगाउने गृहकार्य भईरहेको सभापति रेग्मीले जानकारी दिए । ‘आउने असोज १० गते गाउँ र नगरपालिकाले उम्मेदवारको सिफारिस गर्ने छ’, रेग्मीले थपे । यस्तै १३ गते क्षेत्रीय कार्य समितिले सम्भावित उम्मेदवारको टुंगो लगाई उम्मेदवारको सिफारिस गर्ने छ । १७ गते जिल्ला कार्य समितिले संघ र प्रदेशका सबै उम्मेदवारको टुंगो लगाई केन्द्रमा पठाउने तयारीका साथ कामलाई तिव्रता दिइएको बताए ।
नेकपा एमाले जिल्ला कमिटी सुर्खेतका सचिव मोहन बडुवालले संगठन विस्तार संगै गाउँ–गाउँमा विभिन्न कमिटीका बैठक र भेलाहरु भईरहेको जानकारी दिए । सुर्खेतको हकमा संघ र प्रदेशमा एमालेको जीत कसैले रोक्न नसक्ने उनले दावी गरे । हाल पार्टीको केन्द्रीय कमिटीको निर्देशन अनुसार जिल्ला कमिटीको बैठकले २ ओटा प्रतिनीधि सभा निर्वाचन समन्वय कमिटी र ४ प्रदेश सभा निर्वाचन समन्वय कमिटी निर्माण गरिसकिएको उनले बताए । ढिलोमा पनि असोज २० गते भित्र केन्द्र र प्रदेश सभाका लागि सम्पुर्ण उम्मेदवारको टुंगो लगाई सक्ने जानकारी दिए ।
माओवादी केन्द्र सुर्खेतका संयोजक कृष्णबहादुर जिसीले संघ र प्रदेशको चुनावमा परिणाम ल्याउने गरी जुटिरहेको बताए । चुनावका लागि गाउँ पुगेर मतदाताको राय बुझने, विकासबारे छलफल गर्ने, पार्टी प्रशिक्षण, भेला, संगठन विस्तार गर्ने कार्य तिव्र रुपमा भईरहेको बताए । विगतको तुलना हाल संगठनको अवस्था केही सदृढ भएको बताउदै पार्टीले आगामी निर्वाचनका लागि क्षेत्रीय संयोजकहरु समेत तोकिसकेको जानकारी दिए । माओवादी केन्द्रले प्रदेश सभा १ का लागि कृष्ण जिसी , प्रदेश २ मा ठम्बरबहादुर विष्ट, प्रदेश ३ मा गणेश भण्डारी र प्रदेश ४ मा विन्दमान विष्टलाई उम्मेदवारी टुंगो लगाउने गरी संयोजकको जिम्मेवारी तोकेको छ ।