रूकुम । दसैंको दिन नजिकिँदै गर्दा जिल्लाका बजार सुनसान बन्दै गएका छन् । बजार आउने किनमेल गर्नेको भीड पनि पातलिँदै गएको छ । विशेष गरी घटस्थापनादेखि बजारको भीडभाड कम हुँदै गएको हो । दसैंको किनमेल त्यसअघि नै सकेकाहरू घटस्थापनाको दिन गाउँ गाउँ पुगिसकेका थिए । मूल घरमा जमरा राख्ने तथा लिपपोत गर्नका लागि पनि अधिकांश बजारमा बस्नेहरू गाउँमा रहेका घरमा फर्कने गरेका छन् ।
दसैंको दिन नजिकिँदै जाँदा बजार सुनसान हुने र गाउँमा चहल पहल बढ्ने भएकाले बजारमा बस्नै मन नलाग्ने सर्वसाधारणको भनाई छ । जिल्ला भित्रका विभिन्न बजारमा अध्ययन र पेसा, व्यवसाय गरेर बस्ने तथा जिल्ला बाहिर रहेकाहरू पनि गाउँ पुगेपछि गाउँमा चहलपहल बढेको खवर कान्तिपुर दैनिकमा छ । ‘दिनदिनै बजार सुनसान हुँदै गएको छ, किनमेल गर्न आउनेको संख्या पनि घट्दै गएको छ, सदरमुकामको खलंगा बजारका व्यापारी गोकर्ण खडकाले भने, ‘किनमेल गर्नेहरू पनि पहिल्यै काम सकेर गाउँ लागिसकेका छन् ।’
विशेषगरी पश्चिम रुकुमको सदरमुकाम खलंगा, चौरजहारी, आठबीसकोट बजारको चहलपहल घट्दै गएको हो । पूर्वी रुकुमको रुकुमकोटमा भने चहलपहल बढेको छ । उक्त बजारबाट गाउँ पस्नेभन्दा उक्त ठाउँमा आउनेको संख्या धेरै भएपछि रुकुमकोटमा दैनिक मान्छेको उपस्थिति बाक्लिँदो छ । बाहिर जिल्ला वा विदेशबाट आएका पनि जिल्लाका बजारमा नबसी सरासर गाउँ गइरहेका छन् ।
‘घरै पुगेपछि बजारमा घुमिरहेन मन लाग्दैन,’ आठबीसकोटका मनराज शाहीले भने, ‘बरु गाउँमै पुग्यो उतै रमाइलो हुन्छ ।’ गाउँ जाने मान्छे धेरै भएपछि सवारीको पनि चाप बढेको छ । यसअघि चलिरहेका गाडीले नपुगेर व्यवसायीले अन्यत्रबाटै गाडीको व्यवस्था गरेका छन् । साविकको भन्दा दोब्बर भाडा तिरेर पनि सर्वसाधारण गाउँ गैरहेका छन् । ‘दसैंका बेला भएर कुनै गाडीमा टिकट पाइन्न रहेछ,’ पूर्वी रुकुमको भूमे–३, का रामकुमार श्रेष्ठले भने, ‘दोब्बर भाडा तिरेर बल्ल बल्ल गाडी मिलेको छ ।’