नेपालमा एउटा पुस्ता र सम्प्रदाय छ, जो मदिरा भनेपछि ‘चार कोस’ पर भाग्छ । खासगरी ब्राह्मण समाजका ‘बा(हजुरबा’ पुस्ता मदिरालाई तिरस्कार गर्छ । यो पुस्ता मदिरा सेवनलाई धर्मविरुद्धकै ‘रीत’ ठान्छ ।
तर, अहिलेको परिवेश त्यस्तो छैन । त्यही समुदायको पछिल्लो पुस्ता अहिले मदिरामा ‘मोहित’ छ । अर्थात्, अघिल्लो पुस्ताले घृणा गरेको मदिरा पछिल्लो पुस्ताले त्यत्तिकै हदमा प्यार गर्न थालेको छ ।
घृणा गरिँदै आएको चिजमै ‘मदमस्त’ हुँदा पथभ्रष्ट कहलिए पनि मदिरा संस्कृति पछिल्लो पुस्तामा निकै फस्टाएको छ । परिवर्तित चेतनास्तर, भूमण्डलीकरण, बजार विस्तारलगायत कारणले यसमा भूमिका निर्वाह गरेको देखिन्छ ।
९० अर्बको मदिरा व्यापार
नेपाल मदिरा उत्पादक संघका अनुसार नेपालमा वार्षिक ९० अर्ब रुपैयाँको रक्सी कारोबार हुन्छ । पछिल्लो समय व्यापार फस्टाउँदै गएको संघका महासचिव राजु गुरुङ बताउँछन् ।
भन्सार विभागको तथ्यांक हेरौं । गत आर्थिक वर्ष ०७३र७४ मा तीन अर्ब १३ करोड रुपैयाँको मदिरा र त्यसको कच्चा पदार्थ आयात भयो । यस्तो आयात आव ०७२र७३ मा करिब एक अर्ब रुपैयाँ कम अर्थात् दुई अर्ब २० करोड रुपैयाँको थियो । विभागका अनुसार नेपालमा बेल्जियम, सिंगापुरदेखि युक्रेनसम्मबाट मदिरा आयात हुन्छ ।
‘खोयाबिर्के’ देखि ब्रान्डी र ह्विस्कीसम्म
केही समय अघिसम्म नेपालमा ब्रान्डेड र आयातीत मदिराको दायरा अत्यन्तै साँघुरो थियो । व्यवसायीका अनुसार केही वर्ष अघिसम्म पनि घरेलु उत्पादन अझ ‘खोया बिर्के’कै राज थियो ।
‘अहिले मानिस घरेलुभन्दा ब्रान्डेड मदिरा नै सेवन गर्न रुचाउँछन्,’ महासचिव गुरुङ भन्छन्, ‘बरु, थोरै खाने, ब्राण्डेड नै चाहिन्छ ।’ पछिल्लो समय मदिरा सेवनको ‘ट्रेन्ड’ परिवर्तन भएको व्यापारीहरूको अनुभव छ ।
‘पहिले कोदोको रक्सीको राज थियो,’ एक व्यवसायी भन्छन्, ‘तर, अहिले गाउँ(गाउँसम्म पनि औद्योगिक उत्पादन र आयातीत मदिरा पुगेका छन् ।’
घरेलु उत्पादनका कारण सरकारलाई राजश्व गुमेको र आफूहरूको पनि बजार हिस्सा घटेकाले त्यस्ता रक्सी विस्थापन गर्नुपर्ने व्यवसायीको माग छ ।
पाँच लाखसम्म रक्सीमा स्वाहा
केही वर्ष अघिसम्म मदिरामा खासै पैसा खर्च नगर्ने नेपाली अहिले लाखौंसम्म खर्चिने हैसियतमा पुगिसकेका छन् । अहिले बजारमा पाँच लाख रुपैयाँसम्मका मदिरा उपलब्ध छन् । त्यस्ता महँगा रक्सीको व्यापारमा व्यवसायी असन्तुष्ट छैनन् ।
उनीहरूका अनुसार बोतलको एक हजार पाँच सयदेखि दुई हजार रुपैयाँ हाराहारी पर्ने मदिराको कारोबार उच्च छ । निम्न वर्गमा भने चार सय ५० रुपैयाँ हाराहारीका मूल्यका मदिराको उपभोग उच्च छ ।
अहिले नेपाली बजारमा रुस्लान भोड्का, सिग्नेचर, ब्लु रिबान्ड जिन, भ्याट(६९, खुकुरी रम, एन्टिक्विटीलगायत मदिराको व्यापार तुलनात्मक रुपमा बढी छ ।
२५ देखि ३० युपी शक्तिका मदिराको व्यापार बजारमा उच्च छ । तुलनात्मक रुपमा बढी स्तरीय मानिने यस्तो मदिरा खासगरी शहरी क्षेत्रमा बढी रहेको व्यवसायी बताउँछन् । ग्रामीण क्षेत्रमा भने ५० देखि ७० युपी शक्तिका मदिराको व्यापार बढी छ ।
अहिले झण्डै ६० प्रतिशत नेपालीले कुनै न कुनै प्रकारको मदिरा सेवन गर्ने व्यवसायीको दाबी छ ।
दशैं र तिहारमा व्यापार उच्च
असोज र कात्तिकमा उच्च व्यापार हुने संघका महासचिव गुरुङ बताउँछन् । ‘विस्तारै चिसो लाग्दै जाने र रमझम पनि बढी हुने भएकाले दशैं र तिहारको समयमा सबैभन्दा बढी रक्सी खपत हुन्छ,’ उनी भन्छन् ।
यो समयमा सबै प्रकारका मदिराको व्यापार उच्च हुने व्यवसायीको अनुभव छ । दशैंमा मासुको खपत उच्च हुने भएकाले पनि त्यसले मदिराको व्यापार बढाउने गरेको छ ।
व्यवसायीहरूका अनुसार दशैं तिहारमा हुने कारोबार वर्षभरि हुने मदिरा कारोबारको करिब ३५ प्रतिशत हुन्छ । सगुन, उपहार, रमाइलोलगायत अनेकौं प्रयोजनमा मदिराको उपभोग बढ्दै गएको व्यापारीहरू बताउँछन् ।
‘पहिले त बाहुनले रक्सी खान हुन्न भन्ने संस्कार थियो,’ गुरुङ भन्छन्, ‘तर, अहिले सबैभन्दा बढी रक्सी खपत त्यही सम्प्रदायमा हुन्छ ।’
मदिरा उद्योग ८४ पुगे
संघका अनुसार पछिल्लो समय मुलुकमा मदिराको आन्तरिक उत्पादन बढिरहेको छ । हालसम्म ८४ वटा मदिरा उद्योग दर्ता भएको संघको तथ्यांक छ । तीमध्ये ७३ वटा नियमित सञ्चालनमा छन् । वर्ल्ड दरबार, डाँडाघरे वाइनलगायतले त पछिल्लो समय राम्रो अन्तर्राष्ट्रिय छविसमेत बनाएका छन् ।
खपत हुने मदिरामध्ये घरेलु, मिडल क्लास र अपर क्लासका मदिरा नेपालमै उत्पादन हुन्छन् । तर, रेड लेबल, ब्ल्याक लेबल, गोल्ड लेबल, चिवास रिगल, रोयल सल्युट, ब्लु लेबललगायत प्रिमियम क्लासका मदिरा भने विदेशबाट आयात हुन्छन् ।
अहिले मुलुकभर हुने मदिराको कुल खपतको करिब ६० प्रतिशत हिस्सा स्वदेशी मदिराले नै धानेको संघको दाबी छ । व्यावसायीले भन्सार, अन्तःशुल्क, भ्याट, आयकर वर्षेनी अर्बौं राजश्व तिर्दै आएका छन् । साभार ः अनलाइनखबर