| १८ आश्विन २०७४, बुधबार ११:०७
कालिकाेट । एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपाल पार्टीबीच चुनावी तालमेलसँगै पाटी एकता गर्ने प्रतिबद्धतापछि जिल्ला सदरमुकाम मान्मसहित गाउगाउँमा स्थानीयले खुसियाली मनाएका छन् ।
मान्म, ताडी, दाहा, पाखा, डिल्लीकोट, रकु, कोटवाडा, लालु, भर्तालगायत गाउँमा दीपावली गरिएको छ । खाडाचक्र ३ का वामपन्थी नेता मणिराम पाण्डेले एकताको खुसीमा गाउँमा दीपावली गरिएको बताए । वाम एकताको खबर पाएपछि रकुको लुसागाउँमा पनि दीपावलीसहित खुसियाली सभा गरेको एमाले नेता नमराज सुवेदीले टेलिफोनमा जानकारी दिए ।
राजधानीमा ३ दलबीच चुनावी तालमेल र पार्टी एकताको उद्घोषले कालीकोटका कम्युनिस्टलाई खुसी बनाएको माओवादी केन्द्रका तर्फबाट जिल्ला समन्वय समिति प्रमुख निर्वाचित अनिपाल शाहीले बताए । घोषणालाई व्यावहारिक रूप दिन कठिनाइ भए पनि असम्भव नरहेको उनको भनाइ छ ।