☰ open Loading... 19 April 2024|  

मध्यपश्चिमका ८० प्रतिशत जमिन सिँचाइविहिन
  | २० आश्विन २०७४, शुक्रबार ०९:५७

सुर्खेत : मध्यपश्चिममा साढे चार लाख हेक्टरभन्दा बढी खेतीयोग्य जमिनमा सिँचाइ सुविधा छैन । कुल खेतीयोग्य जमिनमध्ये ८० प्रतिशतमा सिँचाइ सुविधा नहुँदा खेती गर्न समस्या भएको छ । यसले कृषि उत्पादन पनि बढाउन सकिएको छैन । मध्यपश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशनालयको तथ्यांकअनुसार यस क्षेत्रमा पाँच लाख ८५ हजार दुई सय ३९ हेक्टर जमिन खेतीका लागि योग्य छ । तर, त्यसमध्ये चार लाख ६६ हजार नौ सय ३७ हेक्टर जमिनमा भने अझै पनि सिँचाइको सुविधा छैन । यसले गर्दा खेतीयोग्य जमिनमध्ये एक लाख ३५ हजार सात सय ७० हेक्टरमा खेती नै हुन सकेको छैन । अर्कोतर्फ खेती गरिएको जमिनमा पनि सिँचाइ अभावले किसानले लगानीअनुसार उत्पादन लिन नसकेकाे खवर अन्नपूर्ण दैनिकले छापेकाे छ ।


यस क्षेत्रका १५ जिल्लाको कुल खेतीयोग्य जमिन पाँच लाख ८५ हजार दुई सय ३९ हेक्टरमध्ये अहिले एक लाख १८ हजार तीन सय दुई हेक्टर जमिनमा मात्र वर्षभरि सिँचाइ उपलब्ध हुन्छ । यो कुल खेतीयोग्य जमिनको २० प्रतिशत मात्र हो । खेतीयोग्यमध्ये ८० प्रतिशतभन्दा धेरै जमिनमा सिँचाइ अभाव छ । सिँचाइ अभाव भएका ठाउँमा खेतीका लागि आकाशे पानीको भर पर्नुपर्ने अवस्था छ । कुल खेतीयोग्य जमिनमध्ये हाल चार लाख ४९ हजार चार सय ६९ हेक्टर जमिनमा मात्र खेती गरिएको छ । मध्यपश्चिमका १५ जिल्लामा सिँचाइ आयोजना न्यून रहेको पाइएको छ ।

क्षेत्रीय सिँचाइ निर्देशनालय सुर्खेतका अनुसार मध्यपश्चिम क्षेत्रमा अहिले पाँचवटा सिँचाइ आयोजना सञ्चालनमा छन् । मझौला सिँचाइ आयोजना, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, नयाँ प्रविधिमा आधारित सिँचाइ आयोजना मध्यपश्चिमका १५ वटै जिल्लामा सञ्चालन भइरहेका छन् ।

समुदाय व्यवस्थित कृषि क्षेत्र सिँचाइ आयोजना रुकुमको चौरजहारीमा सञ्चालन भइरहेको छ भने कर्णाली अञ्चल सिँचाइ विकास कार्यक्रम भने कर्णाली अञ्चलका पाँच जिल्लामा सञ्चालन भइरहेका छन् । यी सिँचाइ आयोजना सम्बन्धित जिल्लाका सिँचाइ डिभिजन र सबडिभिजन कार्यालयलाई सञ्चालन गर्न जिम्मा दिइएको क्षेत्रीय सिँचाइ निर्देशनालयका लेखा अधिकृत प्रकाश पौडेलले जानकारी दिए ।

मध्यपश्चिमकोे खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउन यी पाँच योजना सञ्चालन भए पनि अपुग रहेको तथांकले देखाएको छ । क्षेत्रीय कृषि निर्देशनालयका प्राविधिक सहायक दिपेन्द्र श्रीवास्तवले खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था गर्नसके मध्यपश्चिमको उत्पादन क्षमता बढ्नुका साथै किसानको आर्थिक अवस्थामा सुधार ल्याउन सकिने बताए । सिँचाइ सुविधाका लागि केही जमिनमा विकल्प नभए पनि धेरै मौसमी सिँचाइको जग्गामा सिँचाइ सुविधाको सम्भावना रहेको उनको भनाइ छ ।

सिँचाइ अभावकै कारण खाद्यान्न उत्पादनमा ह्रास आउने गरेको छ । यस्तै सुर्खेत, दैलेख र कालिकोट जिल्लामा खेतीयोग्य जमिनको आधाभन्दा बढीमा सिँचाइ अभाव छ । सुर्खेत जिल्लाको खेतीयोग्य जमिन ५५ हजार दुई सय हेक्टर रहे पनि अहिले १२ हजार दुई ७६ हेक्टर जमिनमा मात्र सिँचाइ भइरहेको छ ।

यो तथ्यांकलाई हेर्दा सुर्खेत जिल्लामा अझै पनि ४२ हजार नौ सय २४ हेक्टर जमिनमा सिँचाइ अभाव छ । यस्तै दैलेखमा खेतीयोग्य जमिन ४३ हजार एक सय २१ हेक्टर छ ।

खेतीयोग्य जमिनमध्ये अहिले दुई हजार पाँच सय ७६ हेक्टर जमिनमा मात्र सिँचाइ भइरहेको छ भने ४० हजार पाँच सय ४५ हेक्टर खेतीयोग्य जमिनमा अझै सिँचाइ पुग्नसकेको छैन । कालिकोटको खेतीयोग्य जमिन १७ हजार नौ सय ८४ हेक्टर भए पनि दुई हजार पाँच सय नौ हेक्टर जमिनमा मात्र सिँचाइ सुविधा छ । यो तथ्यांकलाई हेर्दा कालिकोटमा १५ हजार चार सय ७५ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ छैन ।