☰ open Loading... 1 May 2024|  

अवैध रूपमा कुखुरा भित्राउने गिराेह सक्रिय
  | २० आश्विन २०७४, शुक्रबार १०:०७

बर्दिया । चाडपर्वको मौका छोपी भारतबाट अवैध रूपमा जिउँदो कुखुरा भित्र्याउने समूह फेरि सक्रिय भएको छ । प्रहरीको मिलेमतोमा भारतीय सीमा बलैगाउँबाट बढदैयाताल गाउँपालिका हुँदै तस्करले अवैध कुखुरा नेपाल भित्र्याउने गरेका हुन् ।

सशस्त्र प्रहरीको टोलीले बिहीबार मात्रै एक क्विन्टल ७६ किलो ८८ वटा कुखुरा नियन्त्रणमा लिएको छ । चार वटा साइकलमा आएका भरियाले बढैयाताल–७ कर्णालीपुरुवामा भारतबाट अवैध रूपमा भित्र्याउन लागेको कुखुरा नियन्त्रणमा लिएको हो ।

जमुनीस्थित प्रहरी चौकी र सशस्त्र प्रहरी बलको कार्यालय नजिकैबाट अवैध रूपमा कुखुरा भित्रिने गरे पनि बेवास्ता हुने गरेको स्थानीयवासीको गुनासो छ । प्रहरीसँग सेटिङमा कुखुरा तस्करी हुने गरेको स्थानीय घनश्याम खत्रीले बताए । उनका अनुसार चाडपर्वको मौका छोपी दैनिक हजारभन्दा बढी भारतीय कुखुरा अवैध रूपमा भित्रिने गरेको छ ।

नेपालमा प्रतिबन्धित भए पनि बलैगाउँबाट कुखुराको तस्करी हुने गरेको उनले जनाए । अवैध रूपमा भित्रिने कुखुरा तस्करबाट प्रहरीले रकम असुल्ने गरेको आरोप समेत स्थानीयवासीको छ । भारतबाट अबैध कुखुरा भित्रिएपछि यहाँका व्यवसायी मर्कामा परेका छन् ।

व्यवसायीका अनुसार ठूलो लगानी गरी कुखुरापालन गरे पनि भारतबाट सस्तोमा अवैध कुखुरा भित्रिएपछि व्यवसायमा समस्या भएको छ । सीमामा कडाइ नभएका कारण तस्करी मौलाउँदै गएको छ ।