सुर्खेत । सुर्खेत क्षेत्र नम्बर २ का सांसद् हृदयराम थानीले नेपाल पत्रकार महासंघ शाखा सुर्खेतलाई १० लाख रुपैया“ सहयोग गर्ने घोषणा गरेका छन् । महासंघ शाखा सुर्खेतको भवनको तला थप गर्न सो रकम दिने घोषणा गरेका हुन् ।
पूर्व मन्त्री समेत रहेका थानीले शनिवार वीरेन्द्रनगरमा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै भवनको तला थप्न १० लाख सहयोग गर्ने प्रतिवद्धता जनाए । सांसद् विकास कोषमार्पmत आउने रकममध्ये महासंघलाई १० लाख दिने बताएका थानीले प्रदेशको समग्र विकासका लागि पत्रकारहरुले रचनात्मक भूमिका निर्वाह गर्न सुझाए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका थानीले प्रदेश प्राप्ति वा लोकतन्त्रका निम्ति भएका आन्दोलनमा सुर्खेती पत्रकारहरुले राजनीतिक दलहरुलाई सही मार्गमा हिडाएको उल्लेख गरे ।
वाम गठबन्धन हुनु राम्रो पक्ष भएको उल्लेख गरेका थानीले निर्वाचनमा कांग्रेसलाई कुनै असर नपुग्ने दावी गरे । वाम गठवन्धन जस्तै कांग्रेसको नेतृत्वमा पनि लोकतान्त्रिक गठवन्धन बन्न लागेको भन्दै चुनावमा तालमेल भएमा आफूहरुले केन्द्रको हरेक निर्णय मान्न तयार रहेको जानकारी दिए ।
कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले संचारकर्मीहरुले आगामी दिनमा विकास निर्माणका मुद्दाहरुलाई प्राथमिकतामा राख्न आग्रह गरे । वीरेन्द्रनगर नगर कार्यपालिकाका प्रमुख देवकुमार सुवेदीले सुर्खेती पत्रकारहरुको विकासको लागि पत्रकार कल्याण कोष र पूर्वाधार निर्माणमा नगरपालिका जहिले पनि सहयोग गर्ने बताए ।