सुर्खेत । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाईँले पत्रकारहरुका हकहितका बारेमा कटिवद्ध भएर लाग्ने प्रतिवद्धता जनाएका छन् । महासंघ शाखा सुर्खेतले शनिवार वीरेन्द्रनगरमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा बोल्दै सदस्य चौलागाईँले प्रदेश ६ का पत्रकारहरुले भोग्नु परेका समस्याबारे जानकार रहेकाले समाधान गर्ने प्रतिवद्धता जनाए ।
भौगोलिक विकटता एवम् अभावका विच पनि यस क्षेत्रका पत्रकारहरुले सञ्चार माध्यमबाट जवाफदेही र खदरदारी गरिरहेकोमा प्रशंसा गर्दै चौलागाईले पत्रकारहरुले भोग्नु परेका समस्या समाधान गर्नमा कुनै कञ्जुसाई बाँकी नराख्ने बताए ।
उनले महासंघले थालेको दुर्घटना विमा कार्यमा यस क्षेत्रका पत्रकारहरुले कम आवेदन दिएकाले यसको संख्यामा वृद्धि गर्न महासंघ सुर्खेतलाई आग्रह गरे । अधिकाँश पत्रकारहरुले प्रेस पास प्राप्त नगरेकाले शिविर सञ्चालन गरेरै भएपनि पास उपलव्ध गराउने विषयमा आफू गम्भीर रहेको जानकारी दिए ।
आगामी दिनमा प्रदेश ६ का पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि तालिम, अभिमुखिकरण जस्ता कार्यक्रम सञ्चालन गर्ने योजना बनाउन लागेको उनले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारती, उपाध्यक्ष ललित बसेल, सचिव सुदिप पुरी, कोषाध्यक्ष टेकेन्द्र विश्वकर्मा लगायत पत्रकारहरुले चौलागाईँलाई शुभकामना दिएका थिए । गत बैशाखमा काठमाडौंमा सम्पन्न महासंघको अधिवेशनमा प्रदेश ६ बाट कलेन्द्र सेजुवाल र चौलागाई निर्वाचित भएका थिए ।