☰ open Loading... 26 December 2024|  

नगर शिक्षा समिति गठनको माग राख्दै शिक्षक संगठनले बुझायो ज्ञापन पत्र
  | २७ आश्विन २०७४, शुक्रबार १७:१६

बर्दिया । स्थानिय तहमा नगर शिक्षा समिति गठनलगाएत अन्य दश बुँदै माग राख्दै नेपाल राष्ट्रिय शिक्षक संगठन ठाकुरबाबा नगर समितिले शुक्रबार ठाकुरबाबा नगरपालिका नगरप्रमुखलाई ज्ञापन पत्र बुझाएको छ ।


शिक्षक संगठन नगर समिति संयोजक कलमबहादुर शाहीले ठाकुरबाबा नगरपालिका नगरप्रमुख घननारायण श्रेष्ठलाई दश बुँदै ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा नगर शिक्षा समिति तत्काल गठन गरिनु पर्ने, न्यून विद्यार्थी संख्या रहेका विद्यालयलाई नजिकैको विद्यालयमा गाभ्नु पर्ने, समयअनूकुल दरबन्दी मिलान गरिनु पर्ने, स्थानिय तह शिक्षा नियम तत्काल निमार्ण गरिनु पर्ने, पीसिएफमा कार्यरत शिक्षकहरुको सेवा सुविधाबारे तत्काल योजना बनाउनु पर्ने उल्लेख गरिएको छ ।

यसै गरि विद्यालयहरुको भौतिक तथा शैक्षिक क्षेत्रमा प्रयाप्त ध्यान दिनु पर्ने, शैक्षिक गुणस्तर अभिबृद्धिका लागि चुस्त अनुगमन, मूल्याङ्कन र प्रोत्साहनका कार्यक्रम संचालन गरिनु पर्ने, शैक्षिक संस्थाहरुलाई सुशासन, पारदर्शिता र ऐन कानुन भित्र राख्नु पर्ने, बालबिकासमा कार्यरत सहयोगी कार्यकर्ताहरुको उचित सुविधा तथा व्यवस्थापन आवश्यक पहल गरिनु पर्ने र कक्षा ५ सम्मको शिक्षालाई सुचना प्रविधिमैत्री बनाउनु पर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

ज्ञापन पत्र बुझदै नगरप्रमुख घननारायण श्रेष्ठले शिक्षकका मागहरुप्रति आफु सकारात्मक रहेको र यसको कार्यान्वयनका लागि पहल गर्ने प्रतिवद्धता जनाएको संगठनका नगर समिति सचिब बासुदेब भट्राईले बताए ।

कार्यक्रममा शिक्षा शाखा अधिकृत सीता भण्डारी, स्रोतव्यक्ति नन्दराम अधिकारी, शिक्षक संगठन जिल्ला कमिटीका कोषाध्यक्ष नारायण अधिकारी,शिक्षक संगठन नगरकमिटीका पदाधिकारी र संगठनमा आवद्ध शिक्षकहरुको उपस्थिती रहेको थियो । ठाकुरबाबा नगरपालिकामा ३२ वटा सामुदायिक विद्यालय छन् ।