☰ open Loading... 23 November 2024|  

प्रविधिको अभावले अनुसन्धानमा कठिनाई : एआईजी चन्द
  | २७ आश्विन २०७४, शुक्रबार १७:५४

सुर्खेत । बदलिदो समयमा प्रहरीसंग प्रयाप्त रुपमा प्रविधिको अभाव हुँदा अनुसन्धान कार्य प्रभावित हुने गरेको प्रदेश ६ प्रहरी कार्यालय सुर्खेतका एआईजी रणबहादुर चन्दले बताएका छन् । ६२ औं प्रहरी दिवसको अवसरमा सुर्खेतमा आयोजित कार्यक्रममा बोल्दै एआईजी चन्दले दक्ष जनशक्ति प्रहरीमा भएपनि प्रदेशमै प्रविधि भित्राउन नसक्दा अनुसन्धान कार्य ढिला हुने गरेको बताएका हुन् ।


देश संघीय संरचनामा रुपान्तरण भइसक्दा पनि प्रदेशमै विधि विज्ञापन प्रयोगशाला, साइवर ल्याव, मोवाइल ल्याव जस्ता प्रविधिहरुको आवश्यकता रहेको चन्दले औंल्याए । प्रदेश नम्बर ६ मा बासोबास गर्ने नागरिकहरुको जिउधनको सुरक्षामा रातदिन प्रहरी खटिएको बताएका चन्दले बदलिदो समयअनुकल प्रहरीलाई बनाउन जरुरी रहेको जानकारी दिए ।

‘अहिलको परिवेशमा नविन सुरक्षाको रणनीति बनाएर अघि बढ्नु पर्छ’ एआईजी चन्दले भने,–‘प्रदेशस्तरिय प्रहरी कार्यालयमा प्रयाप्त रुपमा प्रविधि नहुँदा अनुसन्धान प्रक्रियामा जटिलता थपिएको छ ।’ प्रहरी संगठन सुदृढिकरणमा सरकारले चासो व्यक्त गर्नु सकरात्मक पक्ष भएको बताएका चन्दले यत्तिले मात्रै प्रहरी संगठन मजवत नहुने उल्लेख गरे ।


स्वच्छ र व्यवसायिक रुपमा प्रहरी संगठनलाई मजवुत बनाउन आम नागरिकहरुको सहयोगको खाँचो रहेको बताए । समाजको शान्ति सुरक्षा कायम गर्नमा प्रहरी संगठन एक्लै मात्र केही गर्न नसक्ने भन्दै आमनागरिकलाई शान्ति सुरक्षा मजबुत बनाउन नागरिकलाई सहयोग गर्न अपिल गरे ।


कार्यक्रममा रक्तदाता, विभिन्न खेलकुदका विजयी खेलाडी तथा प्रशिक्षकहरुलाई पुरस्कार वितरण गरिएको थियो । यस्तै, प्रदेश ६ का विभिन्न प्रहरी कार्यालय तथा चौकीहरुमा कार्यरत उत्कृष्ट प्रहरीहरुलाई सम्मान समेत गरिएको थियो ।


कार्यक्रममा क्षेत्रीय प्रशासन कार्यालयका क्षेत्रीय प्रशासक महेन्द्रप्रसाद गुरागाई, प्रमुख जिल्ला अधिकारी सिताराम कार्की, अमर प्रहरी परिवार श्रीमती संघका अध्यक्ष नन्दा श्रेष्ठ, अमर प्रहरी तथा अशक्त परिवार संघका महासचिव रामकुमारी थापा खड्का, सशस्त्र प्रहरी कार्यालयका प्रमुख लगायतको उपस्थिती थियो ।