☰ open Loading... 19 April 2024|  

रारा पुग्ने पर्यटककाे संख्यामा बढाेत्तरी
  | ३१ आश्विन २०७४, मंगलवार ११:२६

मुगु । रारामा घुम्न आउने आन्तरिक पर्यटकको घुइँचो लागेको छ । दसैं र तिहारको बीचमा फुर्सद हुने र रारा घुम्ने उपयुक्त मौसम भएकाले पर्यटकको आगमन बढेको हो ।

रारा राष्ट्रिय निकुञ्जका अनुसार असोज महिनामा मात्र करिब ५ हजार आन्तरिक पर्यटक रारा घुम्न आएका छन् । विदेशीको संख्या भने न्यून रहेको निकुञ्जले जनाएको छ । नेपालगन्जबाट जिप र साना गाडीहरू रिजर्भ गरी आउनेको संख्या बढदै गएको छ । जहाजमार्फत रारा आउने पनि त्यत्तिकै छन् ।

यहाँका गेस्टहाउस र रिसोर्टका कोठाहरू आन्तरिक पर्यटकले खचाखच छन् । कोठाभित्र नअटाएका आन्तरिक पर्यटकलाई होटलले टेन्टमा सुत्ने व्यवस्था मिलाएको खवर कान्तिपुर दैनिकमा छ ।

शारदा नगरपालिका सल्यानका महेश देवकोटा पहिलोपल्ट रारा भ्रमणमा आएका हुन् । ‘आकाश हो कि ताल हो मलाई एकछिन ठम्याउनै गाह्रो भो,’ उनले भने, ‘राराको सुन्दरताले निकै छोयो ।’ उनीसँगै सल्यानबाट २२ जना घुम्न आएका छन् ।

त्यसैगरी बर्दिया बाँसगडी नगरपालिकाकी गंगा मल्लले रारा तालको भ्रमण गर्न एक दिनको समय अपुग भएको भन्दै फेरि आउने बताइन् । उनीहरू मात्र होइन दसैं र तिहारबीचको समयमा यहाँ आउने आन्तरिक पर्यटकको घुइँचो लागेको छ ।

आन्तरिक पर्यटकको आगमनले रारा क्षेत्रमा चहलपहल बढेको छ । ताल वरपर आन्तरिक पर्यटकहरू रमाइरहेका देखिन्छन् । पर्यटकहरू बिहान डुंगा चढेर तालमा घुम्ने र दिउँसो घोडा चढेर मुर्माटप, माझघट्ट, टेलिफोन टावरसम्म जाने गरेर रमाइरहेका छन् ।

यसबेला रारा अवलोकन गर्ने मौसम उपयुक्त भएकाले पोखरा, काठमाडौ, बर्दिया, लुम्बिनी, विराटनगर, चितवनलगायतका स्थानबाट दुई–चार दिनको प्याकेज बनाएर घुम्न आउने गरेका छन् । दैनिक १ सयदेखि २ सयसम्म आन्तरिक पर्यटक रारा घुम्न आउन थालेको डाँफे गेस्टहाउसकी पूर्णादेवी बमले बताइन् ।

कोठा अभावले चौरमा टेन्टको व्यवस्था गर्नुपरेको उनको भनाइ छ । आन्तरिक पर्यटक खचाखच हुन थालेपछि दैनिक ५० हजार बढीको व्यापार हुन थालेको बमले सुनाइन् ।

आगन्तुकलाई मुर्माटप र ताल्चासम्म पुर्‍याउन रारामा ५० भन्दा बढी स्थानीय घोडा छन् । आन्तरिक पर्यटकको आगमनले गर्दा घोडा व्यवसाय पनि निकै चलेको छ । व्यवसायी जयप्रकाश रोकायाले दैनिक घोडाबाट ३ हजार रुपैयाँसम्म कमाइ हुने सुनाए । मुर्मा, झयारी, पिनालगायत गाउँबस्तीका स्थानीयले घोडाहरू रारामा ल्याएका छन् ।

पर्यटकलाई तालमा घुमाउन ३ रबरको डुंगाको व्यवस्था गरिएको निकुञ्जका दर्ज भामले बताए । असोज महिनामा मात्रै पर्यटकबाट ५ लाख रुपैयाँभन्दा बढी आम्दानी भएको उनले जनाए ।

रारामा होमस्टेको व्यवस्था गर्नुपर्ने काठमाडौं गौशालाका सागर निरौलाले बताए । उनले फोहोर मैलाको व्यवस्थान गर्न सुझाए । पर्यटकको वृद्धिसँगै फोहरमैला देखिएकाले तिहारलगतै सरसफाइ अभियान सुरु गर्ने रारा पर्यटन विकास समितिका अध्यक्ष देवीकृष्ण रोकायाले जानकारी दिए ।