अवैध मेडिकल छ्यापछ्याप्ती, औषधीेमा कमशिनको खेल, ढुवानीमा समस्या
राजेन्द्र कार्की : त्रिवेणी नलगाड–११ निवासी नरबहादुर ध्यार भाइरल ज्वरोको संक्रमणले थलिए । तर उनी उपचारका लागि स्वास्थ्यचौमीमा गएनन् । बरु गाँउ नजिकै चौखामा रहेको निजी मेडिकलमा पुगे । त्यहाँबाट औषधी किनेर खाएपछि उनलाई निको पनि भयो ।
उनी भन्छन्,‘सरकारी अस्पतालको औषधीले त कामै गदैन, मेडिकलको औषधीले भनेको बेलामै काम गरिहाल्छ । केही समय अघि छोरी विरामी भएकी थिई, स्वास्थ्य चौकीमा गएर औषधी खुवाउँदा त निको नै भएन ।’ तर मेडिकलबाट ल्याएको औषधीले छोरीलाई निको भएको उनले आफ्नो अनुभव सुनाए ।
त्रिवेणी नलगाड कै परिमले कामी पनि घरका सदस्य विरामी हुने वित्तिकै निजी मेडिकल जान्छन् । उनी भन्छन्,‘सरकारी स्वास्थ्यचौकीमा औषधी नै पाईदैन, निशुल्क दिएको औषधीले पनि कामै गदैन । त्यही भएर म खर्च लागे पनि निजी मेडिकलमै जान्छ, औषधीले काम पनि गर्छ ।’
ध्यार र कामी जस्तै धेरैजसो जाजरकोटबासी उपचारको लागी निजी मेडिकल धाउन बाध्य छन् । जिल्लामा सरकारी स्वास्थ्य संस्थाप्रतिको विश्वास विस्तारै घट्दै गएको छ ।
‘सरकारी स्वास्थ्य संस्थाको औषधी र निजी मेडिकलको औषधीको गुणस्तरमा खासै फरक हुँदैन’ जिल्ला अस्पतालका डाक्टर शिवकुमार झा भन्छन्,‘निजी मेडिकलले शुरुमै हाई डोजको औषधी चलाउँछन्, त्यसले तत्काल प्रभाव देखिएको हो । हामीले भने विरामीको अवस्था हेरेर सामान्य औषधी प्रयोग गर्छौं, निको हुन केही समय लाग्छ ।’
एकैपटक कडा डोज प्रयोग गर्दा मानव स्वास्थ्यमा नै प्रतिकुल असर गरिरहेको उनले बताए । चिकित्सकको अनुमतिविना कडा खालका एन्टिवायोटिक औषधी विक्री गर्न नै मिल्दैन । तर जाजरकोटका मेडिकलवालाले आफै विरामी चेक गर्ने र मनोमानी तरीकाले औषधी दिने गरेको छन् ।
औषधि खरिदमा कमिशनको खेल
सरकारी स्वास्थ्य संस्थामा पठाउने औषधी स्वास्थ्य विभाग अन्र्तगत केन्द्रिय मेडिकल स्टोर आपुर्ती ब्यवस्था महाशाखाले खरीद गर्नेगर्दछ । त्यसपछि क्षेत्रिय मेडिकल स्टोरमार्फत जिल्लामा पठाउने गरिएको छ । जिल्लामा औषधी टेण्डर प्रक्रियाबाट खरीद गरिने गरिएको छ । कमिशनका कारण कम गुणस्तरको औषधि खरिद हुने गरेको जिल्लाका स्वास्थ्यकर्मी नै बताउँछन् ।
कम गुणस्तरको औषधी भए पनि कमिशन लेनदेनका आधारमा बोलपत्र स्वीकृत गर्ने र मिलेमतोमा सोही अनुसार ढुवानीकर्ताले औषधी पु¥याउने गरेका छन् । जसरका कारण सरकारी औषधीको गुणस्तरमा प्रश्न चिन्ह खडा हुने गरेको स्वास्थ्यकर्मीको भनाई छ । त्यसका अलावा केही औषधी जिल्लाले नै खरीद गर्ने गरी बजेटको ब्यवस्था गर्ने गरिएको छ ।
जिल्लाले खरीद गर्ने औषधी पनि घटाघटमा गर्ने र गुणस्तर मापन नगरी भौतिक परिणाम मात्र चेकजाँच हुने गरेको छ । जसका कारण औषधी कमसल खालको भित्रिने गरेको हो । गत बर्ष मात्र जाजरकोटमा जिल्लाले ४५ लाख र क्षेत्रिय मेडिकल स्टोरले करीव दुई करोडको औषधी पठाएको थियो ।
त्यति ठुलो परिणाममा औषधी जिल्लामा भित्रिदा पनि दुर्गमका स्वास्थ्य संस्थाहरुका सधै औषधीको अभाव हुने गरेको छ । जिल्लाले करीव २० प्रतिशत खर्च गर्छ भने ८० प्रतिशत औषधी क्षेत्रिय मेडिकल स्टोरले पठाउने गरेको छ ।
निशुल्क औषधि पाउनै मुस्किल
सरकारले स्वास्थ्य चौकीबाट ४८ , प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ र जिल्ला अस्पतालबाट ७० प्रकारका औषधी निशुल्क दिने घोषणा गरेको छ । तर जिल्लाका कुनै पनि स्वास्थ्य संस्थामा सवै प्रकारका प्रयाप्त औषधी कहिल्यै पाईदैनन् । नागरिक समाज जाजरकोटका अध्यक्ष केशवजंश शाह भन्छन्, ‘नागरिकलाई निशुल्क औषधी दिने भनेर सरकारी बजेट सकिएको सकिएै छ, तर हामीले निशुल्क भनिएको औषधि पनि किन्नुपर्ने बाध्यता छ ।
गुणस्तरीय औषधिको त कुरै छोडौं, औषधी नपाउँदा निमुखा नागरिक अहिले निजी मेडिकल जान बाध्य छन् ।’ एकातिर निजी मेडिकलले नागरिकको आर्थिक शोषण गरिरहेका छन् भने अर्कोतिर स्वास्थ्यमा खेलवाड । पैसा कमाउने नाममा हाईडोज औषधी दिएर मानिसको स्वास्थ्य विगारी रहेका छन् । यसतर्फ सरकारले ध्यान दिनुपर्ने शाहले बताए ।
सरकारी प्रभावकारी नहुँदा नीजिको लुट
जाजरकोटका गाँउपिच्छे नै निजी मेडिकल छन् । जिल्लाभर निजी मेडिकल पाँच सय बढी छन् । तर धेरैजसो अवैध रुपमा संचालनमा छन् । मेडिकल राख्नको लागी फार्मेसी पढेको र औषधी ब्यवस्था विभागबाट स्वीकृति लिएको हुनुपर्ने प्रावधान छ । तर यहाँ ९५ प्रतिशत मेडिकल नियम विपरीत संचालन भैरहेका छन् । स्वास्थ्य सम्बन्धी सामान्य ३५ दिने तालिम लिएकाले पनि मेडिकल संचालन गरिरहेका छन् । नियमनकारी निकायले यसतर्फ कुनै चासो नदिदा गाँउ गाँउमा मनोमानी तरीकाले अवैध मेडिकल धमाधम खुलिरहेका छन् ।
जिल्लाका सरकारी स्वास्थ्य संस्थाको सेवा प्रभावकारी नहुँदा निजी मेडिकलहरु मालामाल भएका छन् । स्वास्थ्य संस्थाको मागका आधारमा जिल्ला स्वास्थ्य कार्यालयले औषधी दिने गरेको छ । तर कतिपय स्वास्थ्य संस्थाले औषधी नै माग गर्न नआउने गरेको जिल्ला स्वास्थ्य कार्यालयका स्टोरकिपर लमबहादुर खड्काले बताए । जिल्लाका प्राय ठाँउमा औषधी गईरहेको छ । तर सधै अभाब मात्र भन्ने गुनासो सुनिने गरेको उनले बताए ।
यातायात नहुँदा ढुवानीमा समस्या
गत साउनमा मात्र चार लाख पारासिटामोल ट्याबलेट स्वास्थ्यचौकीहरुमा खपत भएको छ । यातायातको असुविधाले गर्दा कतिपय औषधी सवै ठाँउमा पठाउन नसकिएको बताए । सेवा दिउ र काम गरौ भन्ने स्वास्थ्यकर्मी हुने ठाँउमा औषधी अभाव देखिदैन । कामचोर स्वास्थ्यकर्मी हुने ठाउँमा मात्र औषधी अभाव देखिने गरेको खड्काले बताए । उनका अनुसार सलाईन (आरएल) लगायतका बढी तौल हुने औषधी दुर्गममा पठाउनै गाह्रो हुने गरेको छ । ढुवानी समस्याले स्वास्थ्यकर्मीले आरएल लिनै मान्दैनन् । समयमा औषधी गाँउका स्वास्थ्य संस्थाले नलिदा जिल्लाको स्टोरमा थन्किएको छ ।
गाँउमा सधै औषधीको अभाव भैरहन्छ । तर केही समयअघि मात्र जिल्ला स्वास्थ्य कार्यालयले म्याद सकिएको ठुलो परिणामको औषधी नष्ट गरेको थियो । जाजरकोटवासी स्वास्थ्य सेवा र पहुँचको हिसावले निकै पछाडी छन् । तीन नगरपालिका र चार गाँउपालिका रहेको जाजरकोटमा एक जिल्ला अस्पताल, तीन प्राथमिक स्वास्थ्य केन्द्र र ३१ स्वास्थ्य केन्द्र रहेका छन् ।
भौगोलिक विकटताले स्वास्थ्य संस्था पुग्न ६ घण्टा बढी समय लाग्ने गरेको छ । छिन्चु जाजरकोट सडक खण्डमापर्ने केही ठाँउबाहेक अन्य गाँउहरुमा सडकको पहुँच पुग्न सकेको छैन । जिल्लाका ८० प्रतिशत भुभागका बासिन्दा पैदल हिड्नुको विकल्प छैन । विरामी पर्दा डोको र स्टेचरमा मानिसले बोकेर स्वास्थ्य संस्था लैजानुपर्ने बाध्यता रहेको जुनीचाँदे गाँउपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताए । स्
नाम मात्रका स्वास्थ्य संस्था
जिल्लका स्वास्थ्य संस्था नाम मात्रका छन् । स्वास्थ्य संस्थामा न स्वास्थ्यकर्मी हुन्छन् न सरकारले निशुल्क दिने भनेको औषधी नै पाउन सकिन्छ । कमजोर स्वास्थ्य सेवाका कारण जाजरकोटमा वर्षेनी सामान्य रोगले पनि महामारीको रुप लिने गर्दछ । गरीवी, जनचेतनाको अभाव र भरपर्दो उपचार सेवाको अभावमा जिल्लामा पटकपटक सरुवा रोगको संक्रमण फैलिने गरेको छ ।
जनचेतनाको अभावमा सरसफाईमा ध्यान नदिने, सुरक्षित पानीको प्रयोग नगर्ने र गरीबीका कारण पोषणयुक्त खानाको अभावमा रोग प्रतिरक्षा शक्ति कमजोर हुँदा जाजरकोटबासी बर्षेनी विभिन्न रोगको शिकार हुने गरेका छन् ।
नागरिक अगुवा राजेन्द्रविक्रम शाहले भने,‘जिल्लामा स्वास्थ्यको अवस्थामा सुधार ल्याउन धेरै काम गर्नुपर्ने अवस्था छ, सरकारले जाजरकोटको स्वास्थ्य अवस्था सुधार गर्न खासै पहल गर्न सकेको छैन ।’ ५० शैयाको जिल्ला अस्पतालमा आवश्यक उपकरणको ब्यवस्था हुन नसकेको, पुर्वाधारको अभाव, विशेषज्ञ चिकित्सकको दरबन्दी कायम गरिए पनि पदपुर्ती हुन नसकेको र भवन अभावमा थप शैयाको विस्तार हुन सकेको छैन । अर्कोतर्फ ब्लड बैकको स्थापना हुन सकेको छैन । सामान्य खालका शल्यक्रिया र प्रसुती सेवासमेत हुन नसक्दा जिल्लावासी हजारौ खर्चेर उपचारका लागी जिल्लाबाहिर जान बाध्य छन् ।
अस्पतालले सामान्य खालका विरामीको पनि उपचार गर्न नसकेर विरामीलाई जिल्ला बाहिर रिर्फर गर्ने गरेको छ । जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा आवश्यक उपकरणको अभावमा अनुमानको भरमा अनुहार हेरेर उपचार गर्ने गरिएको छ । कतिपय स्वास्थ्य संस्थाले रोगको पहिचान नै गर्न नसक्दा अकालमा विरामीको ज्यान जाने गरेको छ । क्रियाशील पत्रकार मञ्च नेपालका लागि