दाङ । कर्तव्य ज्यान मुद्दामा फैसला भई फरार दाङका कालुराम चौधरी काठमाडौंमा पक्राउ परेका छन् । दाङ देउखुरी जिल्ला अदालतको २०६९ जेठ १७ को फैसलाले कर्तब्य ज्यान मुद्दामा जन्म कैदको सजाय हुने ठहर भएपछि फरार रहेका चौधरीलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरी टोलीले काठमाडौं सामाखुसीबाट पक्राउ गरेको छ ।
जिल्लाको साविक उरहरी गाबिस–८ बेलगनारका ४२ वर्षीय चौधरीलाई सोही ठाउँका रमेश हमालको हत्याको आरोप लागेको थियो । २०६५ भदौ ११ गते सोही ठाउँका रमेश हमालले गोली प्रहार गरी आफूमाथि आक्रमण गरेको रिस राखी कालुरामको निर्देशनमा सिताराम चौधरी समेतका करीव १८ जनाले २०६६ चैत २६ गते रमेश हमाललाई अपहरण गरी वैवाङ्गस्थित नर्सरीमा लगेर तरवार प्रहारबाट हत्या गरी शवलाई प्लाष्टिकमा बेरेर पातुखोलाको बगरमा गाडेको खुल्न आएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ ।
पक्राउ परेका कालुराम चौधरीलाई फैसला कार्यान्वयनका लागि बुधबार काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय जगन्नाथदेवल पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।