सागर परियार,
जुम्ला । मंसिर १० गते हुने संघ र प्रदेशको निर्वाचनाको मनोनयन दर्ता भएलगत्तै जुम्लामा चुनावी प्रचार शुरु भएको छ । जम्लामा दलहरुले आफ्नो उम्मेदवारी सँगै चुनावी प्रचार प्रसार थालेका हुन् ।
उनीहरुले चुनाब प्रचारका लागि आ आफ्नो पार्टीमा प्रचार टोली गठन गरेका छन् । बाम गठवन्धनले १४ सदस्यीय सचिवालय समिति गठन गरेको छ । जसमा एमालेबाट ७ र माओवादीबाट ७ जना गरी १४ जनाको सचिवालय समेत गठनगरी चुनावी प्रचार अभियान थालेका हुन् ।
माओवादी पोलिटव्यूरो सदस्य तथा बाम गठबन्धनका प्रतिनिधीसभाका उम्मेदवार गजेन्द्रबहादुर महत र एमालेका बाम गठवन्धन प्रदेश क्षत्र नं ख का उम्मेदवार पदमबहादुर रोकाया सहितको टोली सिंजा क्षेत्रमा लागेको छ, यसैगरी माओवादी पोलिटव्यूरो सदस्य नरेश भण्डारी सहितको टोली जिल्लाको चौधविस क्षेत्रमा चुनावी प्रचार प्रसार अभियानमा लागि सकेका छन ।
पहिलो चरणमा उम्मेदवारहरु आफ्नो उम्मेदवारी निश्चित भएको जानकारी दिन तथा बाम गठवन्धनको बिषयमा जानकारी सहित चुनावी अभियानमा थालिएको उम्मेदवारहरुले जनाएका छन । जुम्लाको एक निर्वाचन क्षेत्रको २ वटा प्रदेश क्षेत्रमा नेताहरु चुनाव प्रचारका लागि होमिएका हुन ।
यसैगरी नेपाली कांग्रेस आफ्नो आन्तरिक तयारीमा समेत जुटिसकेको अवस्था रहेको छ । प्रतिनिभिसभाका उम्मेदवार देवेन्द्रबहादुर शाही सहितको टोली पनि चन्दननाथ नगरपालिकामा प्रचार प्रसारमा लागि सकेको छ । कांग्रेसले निर्वाचनको रणनिति तयार गरिरहेको र अव जिल्ला भरी प्रचार शुरु गर्ने नेपाली कांग्रेस जुम्लाले जानकारी दिएको छ ।
जुम्लामा दर्ता गरिएका उम्मेदवारहरुको अन्तिम नामावलि समेत प्रकाशन भईसकेको र नामावलिमा कसैको दावी विरोध नआएपछि विशेषगरी नेताहरु ढुक्क तरिकाले चुनावी अभियानमा लागेका हुन । जुम्लामा बाम गठवन्धनबाट प्रतिनिधीसभाका उम्मेदवार माओवादीका गजेन्द्रबहादुर महत, प्रदेश (क) बाट नरेश भण्डारी, प्रदेश (ख) बाट पदमबहादुर रोकाया उम्मेदवार सहित चुनावी मैदानमा उत्रेका छन ।
यसैगरी लोकतान्त्रिक गठवन्धनबाट नेपाली कांग्रेसका देवेन्द्रबहादुर शाही प्रतिनिधीसभा, राजुसिंह कठायत प्रदेश –क) र भिमनिधी हमाल प्रदेश (ख) बाट उम्मेदवार दिई मैदानमा उत्रिएका छन । यसैगरी नेमकिपाबाट डिल्लीप्रसाद काफ्ले प्रतिनिधीसभा, शिवालाल डाँगी प्रदेश (क) र प्रदेश (ख) अन्तरगत गोर्खबहादुर बुढा उम्मेदवारको रुपमा अघि बढेका छन ।