☰ open Loading... 25 April 2024|  

तीन वर्षमा भूमिहिनका समस्या समधान गर्छु : रावत
  | ४ मंसिर २०७४, सोमबार १७:२४

सुर्खेत । सुर्खेत क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका नेकपा एमालेका नेता नवराज रावतले आफूले निर्वाचन जितेमा तीन वर्षभित्रमा भूमिहिन र सुकुम्वासीहरुलाई जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् । चुनावी प्रचारका क्रममा सोमवार बराहताल गाउँपालिकाको वडा नं. ५ का मतदातासँग उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

रावतले बाढीपीडित र सुकुम्वासीहरुको समस्या समाधानका लागि आफू गम्भिर रहेको भन्दै प्राथमिकताका साथ ति समस्या समाधानमा लाग्ने बताएका छन् । उनले बाढीपीडितलाई एक वर्षभित्र उचित स्थानमा स्थानान्तरण र पुनर्वास गराउने बताए । त्यसैगरी भूमिहिन सुकुम्बासीको पहिचान गरी ३ वर्षभित्र जग्गा उपलब्ध गराउनुका साथै अव्यवस्थित बसोबसीलाई जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराइने योजना आफ्नो प्राथमिकतामा रहेको उनले जनाए ।

‘वर्षौदेखि नागरिकहरु भूमिहिन अवस्थामा बस्नुपरेको छ’ रावतले भने, ‘अहिलेसम्म उहाँहरुका समस्या समाधान गर्न कसैले चासो दिएन, अब हामीलाइ काम गर्ने अवसर दिनुस् हामी ति समस्या तीन वर्षभित्रैमा समाधान गर्नेछौं ।’ घरवारबिहीन सुकुम्बासीका साथै लोपोन्मुख जाती वादी, राउटे, माझी, कुमाल, कुसुन्डा लगायतका विपन्न परिवारलाई पनि तीन वर्षभित्रमा घर उपलब्ध गराईने बताए ।

‘त्यस्ता परिवारमा एक महिला र एक पुरुष रोजगारी उपलध गराउने योजना र कार्यक्रम पनि हामीसँग छ’ रावतले थपे, ‘अन्य सम्पूर्ण परिवारलाई सम्बोधन गर्ने गरी एक घर एक रोजगार समेत उपलब्ध गराईनेछ ।’

भौतिक पुर्वाधारको विकास निर्माणका साथसाथै नागरिकको आर्थिक, सामाजिक अवस्थामा सुधार ल्याउनु आफूहरुको कर्तव्य हुने उनको भनाइ थियो । सुर्खेत क्षेत्र नंं २(ख)बाट प्रदेशसभा सदस्य उम्मेदवार बनेका विन्दमान विष्टले बस्ती विकास कार्यक्रमलाई उच्च महत्व दिँदै ठुला समथर स्थानमा एकीकृत बस्ती व्यवस्थापनसहित शहरीकरण गरिने योजना आफूहरुसँग रहेको बताए ।

‘हामी यो क्षेत्रलाई समृद्ध बनाउन र जनताको जीवनस्तर सुधार गर्ने अठोटका साथ उम्मेदवार बनेका छौं’ विष्टले मतदातासँग भने, ‘तपाइँहरुले यसपटक भोट दिएर जिताउनुभयो भने, गुनासो गर्नै नपर्ने गरी काम गरेर देखाउँछौं ।’

गरिब र विपन्न परिवारहरुका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाउँदै विष्टले पश्चिम सुर्खेतको सुन्दर भविष्य कोर्न वाम गठबन्धनका उम्मेदवारको पक्षमा मतदान गर्न आग्रह गरे ।