☰ open Loading... 19 April 2024|  

ज्योतिष शरणमा होइन जनताको आर्शिवाद लिएर अघि बढ्छौं : केपी ओली
  | ७ मंसिर २०७४, बिहीबार १८:१३

सुर्खेतमा वाम गठबन्धनको चुनावी सभा

सुर्खेत । ज्योतिषले भनेकै भरमा सात पटक प्रधानमन्त्री हुन्छु भन्ने पार्टीलाई मत नदिन नेकपा एमालेका अध्यक्ष केपी ओलीले जनतालाई आग्रह गरेका छन् । वाम गठबन्धनले आयोजना गरेको वृहत चुनावी सभालाई सम्बोन्धन गर्न सुर्खेतको वीरेन्द्रनगर आउनु भएका ओलीले राष्ट्र निर्माणमा वाम गठबन्धन चुनावी मैदानमा होमिएकाले ज्योतिषको शरणमा पर्नेलाई मत दिने भन्दा देश बनाउनेलाई जिताउन अपिल गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवातर्फ इंकित गर्दै पूर्व प्रधानमन्त्री समेत रहनु भएका ओलीले भने,–‘केही नेता यस्ता छन्, जनताको मतबाट हैन ज्योतिषले नै सात पटक प्रधानमन्त्री बनाइ दिन्छ, त्यस्तालाई मत दिएर किन खेर फाल्नुहुन्छ ।’

राम्रो काम गरेर जनताको विश्वास जित्ने भनेकै वाम गठबन्धन भएकाले हामी ज्योतिषको शरणभन्दा पनि जनताको आर्शिवाद लिएर देश निर्माणमा होमिएको उनले उल्लेख गरे ।

विगतका संघर्षमा पाउरोटीमा जाम जेरी खान विदेश जाने पल्केकाले आफूहरुलाई लोकतन्त्र सिकाउनु हास्यास्पद भएको भन्दै उहाँले त्यस्ता पार्टीबाट देश विकासको अपेक्षा गर्न नसकिने भएकाले वाम गठबन्धनलाई बहुमत दिएर पठाउन आग्रह गरे ।

सभामा नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा बादलले नेपालमा एउटै कम्युनिष्ट पार्टी निर्माण गरेर समृद्ध देश बनाउन आफूहरु होमिएको बताए । उनले निर्वाचन लगत्तै नेपालमा शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गर्न लागेको स्पष्ट पारे ।

१० गते र २१ गते हुन लागेको निर्वाचनमा बाम गठबन्धनका उम्मेदवारहरुलाई अत्याधिक बहूमत दिएर जिताउन बादलले जनतालाई आग्रह गरे । ओली र बादलले बिहिबार नै दैलेखको दैलेख बजार र दुल्लुको चुनावी सभालाई समेत सम्बोन्धन गरेका थिए ।