☰ open Loading... 26 November 2024|  

प्रदेश ६ : सात जिल्लामा निर्वाचन तयारी पूरा
  | ८ मंसिर २०७४, शुक्रबार १५:३७

सुर्खेत । मंसिर १० गते हुन लागेको प्रथम चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारी पूरा भएको छ । प्रदेश ६ का ७ जिल्लाका ५ सय १० मतदान स्थलमा निर्वाचनको लागि आवश्यक तयारी पूरा भएको हो ।

प्रथम चरण अन्तरगत निर्वाचन हुन लागेका हुम्ला, जुम्ला, डोल्पा, मुगु, कालिकोट, जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जिल्लाहरुमा आवश्यक कर्मचारी, निर्वाचन सामग्री र सुरक्षाकर्मीहरु सम्वन्धित मतदान स्थलमा पुगिसकेका छन् ।

नेपाली सेनाको हेलिकप्टरबाट निर्वाचन सामग्री ढुवानी गरेका डोल्पाका १९ र हुम्लाका ४३ मतदान केन्द्रमा समेत बिहिबार साँझै कर्मचारी र सुरक्षाकर्मी पुगिसकेको क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतका निर्वाचन सेल शाखा अधिकृत नन्दा पौडेलले जानकारी दिइन् । उनका अनुसार सात जिल्लाकै सवै मतदान स्थलमा शुक्रबार विहानैदेखी मतदाता परिचय पत्र लिने नागरिकहरुको उत्साहजनक सहभागीता रहेको छ ।

माथिल्लो हुम्लाका तीन मतदानस्थलमा बिहिबार हिमपात भएपछि निर्वाचन प्रभावित हुन्छ की भन्ने आशंका गरिएपनि शुक्रबार विहानैदेखी मौसममा सुधार आएको खवर जिल्ला प्रशासन कार्यालय हुम्लाले गरेको पौडेलले जानकारी दिइन् । उनले अन्य मतदानस्थलमा अहिलेसम्म त्यस्तो कुनै असहजता नभएको बताईन् ।

मतदान हुने स्थलको सम्वेदनशीलता हेरेर सातै जिल्लामा झण्डै १० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचनमा अप्रिय घटनाभएमा तत्काल सुरक्षाकर्मी पठाउन तयारी अवस्थामा राखिएको छ । स्थानीय तहको निर्वाचनभन्दा प्रथम चरणको निर्वाचन हुने जिल्लाहरुमा यो पटक सुरक्षाकर्मीहरु धेरै परिचालन गरिएको पौडेलले उल्लेख गरिन् ।

मंसिर १० गते हुने निर्वाचनमा प्रदेश ६ का ७ जिल्लाका १९३ मतदानस्थल अति सम्वेदनशील, १७८ सम्वेदनशीलमा र १३९ सामान्यमा मतदानस्थल पर्ने गरेको प्रतिवेदन क्षेत्रीय सुरक्षा समितिले निकालेको थियो ।

कार्तिक अन्तिमसाता नेपालगञ्जमा सम्पन्न क्षेत्रीय सुरक्षा समितिको बैठकले पनि अतिसम्बेदनशील मतदानस्थलमा यो पटक कडा सुरक्षाको व्यवस्था गरिएको छ । निर्वाचनमा नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका कर्मचारीहरु परिचालन गरिएको छ ।

निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र व्यवस्थित बनाउन सुरक्षाव्यवस्था समेत कडा पारिएको क्षेत्रीय प्रशासनको निर्वाचन सेलले जनायो । ७ जिल्लाका ६ प्रतिनीधी सभाको सिटका लागि ३१ जना र प्रदेश सभाका लागि १४ सिटमा ५६ जना चुनावी मैदानमा छन् । ७ जिल्लाबाट कुल तीन लाख ७८ हजार ४२७ जना मतदाता मतदानमा सहभागी हुँदैछन् ।