☰ open Loading... 20 April 2024|  

निर्वाचनमा सुरक्षा प्रभावकारी बनाउन निर्देशन
  | १९ मंसिर २०७४, मंगलवार १५:४५

दाङ । सुरक्षा निकायका प्रमुखहरुले मंसिर २१ गते हुने निर्वाचनका लागि प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन दाङका सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सोमबार दाङमा आउनुभई जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई भरपर्दो सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएका हुन ।

निर्वाचन बिथोल्ने आपराधिक गतिबिधि जारी रहँदा सुरक्षा निकायका प्रमुख आएर सुरक्षा अवस्थाका बारेमा जानकारी लिए । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीपकुमार रेग्मीसहित सुरक्षा निकायका प्रमुखले दाङको सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए ।

केही दिन पहिले प्रधानमन्त्री शेरबहादुर देउवा दाङ आएको बेला भएको वम विष्फोट र उम्मेदवारलाई लक्षित गरी भइरहेका बम विष्फोटका घटनाका बारेमा बुझ्दै सुरक्षा निकायका प्रमुखले आवश्यक सुरक्षा सतर्कता बढाउन निर्देशन दिए ।

नेपाल प्रहरीका प्रमुख अर्यालले आम मतदाता र उम्मेदवारको पूर्ण सुरक्षाको जिम्मा लिँदै अपराधमा संलग्न कुनै पनि समूह वा व्यक्तिलाई कानुनी दायरामा ल्याउन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए ।

चुनावलाई भयरहित, स्वतन्त्र, सुरक्षित र मर्यादित बनाउन जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिँदै मतदाता, उम्मेदवार र चुनाव सामग्रीको सुरक्षामा जिम्मेवार बन्नसमेत सुझाव दिएका थिए । जिल्लामा चुनावलाई सुरक्षित बनाउन चार हजार एक सयभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन् ।