डोल्पा । तीनवटै सिटमा विजय हासिल गरेको वाम गठबन्धनले हजारौंको उपस्थितिमा यतिखेर विजयोत्सव मनाइरहेको छ ।प्रतिनिधिसभामा विजय भएका एमालेका धनबहादुर बुढा, प्रदेशसभा क मा विजय प्राप्त गरेका एमालेकै नन्दसिंह बुढा र प्रदेश ख मा विजय हात पारेका माओवादी केन्द्रका वीरबहादुर शाहीसहितको हजारौं कार्यकर्ताहरुको उपस्थितिमा वाम गठबन्धन डोल्पाले यतिबेला डोल्पाको सदरमुकाम दुनै बजारमा विजय जुलुसले विभिन्न नारासहित बजार परिक्रमा गरिहेको छ ।
विजय ऱ्यालीले बजार परिक्रमापछि जिल्ला समन्वय समिति डोल्पाको प्राङ्गणमा सजाइएको आकर्षक मञ्चमा पुगेर विजयसभामा परिणत हुने भएको छ ।
एकातिर विजय जुलुस भइरहेको छ भने अर्कोतिर मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पामा समानुपातिकतर्फको मतगणना साढे १२ बजेबाट सुरु भएको छ ।
मतगणनामा प्रत्यक्षतर्फको निर्वाचनमा सहभागी नभएका राजनीतिक दलका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाका मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले जानकारी दिएका छन् ।