☰ open Loading... 24 November 2024|  

जुम्लामा साना दलहरूको धरौटी रकम जफत
  | २७ मंसिर २०७४, बुधबार १८:३५

सागर परियार
 जुम्ला । जुम्लामा बाम गठबन्धन तथा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बाहेक अन्य सबै साना दलहरुको धरौटी रकम जफत भएको छ । संघ र प्रदेश सभाको निर्वाचनमा १० प्रतिशत मत ल्याउन नसक्ने जुम्ला स्थित साना दलहरुको धरौटी रकम जफत गरिएको हो । प्रतिनिधि सभा सदस्यका लागि नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवार दिएका पुर्व सांसद डिल्लीप्रसाद काफ्लेको सहित अन्य साना दलहरुको धरौती जफत भएको मुख्य निर्वाचन अधिकृत प्रकाश ढुंगानाले जानकारी दिए ।

उनका अनुसार काफ्लले कुल सदर ३९ हजार ७ सय ३१ मतको १० प्रतिशत अर्थात ३ हजार ९ सय ७३ मत प्राप्त गर्न नसकेका कारण धरौटी जफत भएको हो । उनले २ हजार ७ सय १८ मत प्राप्त गरेका छन् भने १ सय २५ मत प्राप्त गर्न नसेकाले धरौटी फिर्ता हुन नसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालय, जुम्लाले जनाएको छ ।

कुल सदर मतको १० प्रतिशत मत भन्दा कम मत प्राप्त गरेका दलहरुको धरौटी स्वतह जफत व्यवस्था रहेको छ । जुम्लामा नेमकिपा, राप्रजा, राप्रपा ‑प्रजातान्त्रीक), संघियसमाजबादी फोरम, नयाँ शक्ती पाटी लगायतका दलहरुको हजारौ धरौटी रकम जफत भएको निर्वाचन अधिकारी खुमप्रसाद सुबेदीले बताए ।

त्यस्तै ः प्रतिनिधि सभाको सदस्यका लागि वामगठवन्धनका उम्मेदवार गजेन्द्रबहादुर महतले २२ हजार १ सय ७३ मत प्राप्त गरी विजयी भएका छन् भने नेपाली काँग्रेसका उम्मेदवार देवेन्द्रबहादुर शाहीले १४ हजार १ सय ४९ मत प्राप्त गरी पराजय भएका थिए । उनीहरु दुवै जनाको धरौटी फिर्ता हुने भएको मुख्ल निर्वाचन अधिकृत प्रकाश ढुंगनाले बताए ।

प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार दिएका मधेसी जनधिकार फोरमका उम्मेदवार अमित कुमार शाहीले १ सय ५९ मत प्राप्त गरेकाले उनको धरौटी फिर्ता भएन । त्यसैगरी राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विन बुढाको पनि धरौटी जफत भएको छ भने उनले ३ सय ८० मत प्राप्त गरेका थिए । स्वतन्त्र उम्मेदवार हरिहर चौलागाईको पनि धरौटी जफत भएको छ । उनले १ सय ५२ मत प्राप्त गरेका थिए ।

प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ का वाम गठवन्धनका १२ हजार ५ सय ७४ मत प्राप्त गरी विजयी उम्मेदवार नरेश भण्डारी र नेपाली काँग्रेसका ८ हजार ५ सय ३७ मत प्राप्त गरी पराजित भएका उम्मेदवार राजुसिंह कठायतले मात्र धरौटी फिर्ता पाउने भएका छन् भने नेपाल मजदुर किसान पार्टीका उम्मेदवार शिवलाल डाँगी(१०२८), नयाँ शक्ति उम्मेदवार राधाकृष्ण बुढ्थापा(१६१), राप्रापा राष्ट्वादीका उम्मेदवार मनिकृष्ण बोहोरा(२१६) र संघिय समाज बादी पार्टीका उम्मेदवार विष्णुभक्त भट्टराई(१०८) को धरौटी जफत भएको छ ।

प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ का वाम गठवन्धनका १० हजार ४ सय ५८ मत प्राप्त गरी विजयी उम्मेदवार पदम रोकाया र ५ हजार २ सय ८० मत प्राप्त गरी पराजित नेपाली काँग्रेसका उम्मेदवार भिमनिधि हमालले धरौटी फिर्ता पाउने भएका छन् भने नेपाल मजदुर किसान पार्टीका उम्मेदवार गोर्खबहादुर बुढा(१३३६) र राप्रपाका दिपचन्द्र चौलागाई(२०९) को भने धरौटी जफत भएको छ ।

प्रतिनिधि सभाका प्रति उम्मेदवारले १० हजार र प्रदेश सभाका प्रति उम्मेदवारले ५ हजार उम्मेदवारी दर्ताका बेला धरौटी बुझाएका थिए भने प्रतिनिधि सभाका सदस्यका लागि ७ जनाको उम्मेदवारी दर्ता भएको थियो । त्यसैगरी प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ का लागि ६ जनाको उम्मेदवारी दर्ता भएको थियो भने निर्वाचन क्षेत्र नम्बर २ का लागि ४ जनाको उम्मेदवारी दर्ता भएको थियो ।