सुर्खेत । भन्दा अपत्यार लाग्ला घटना बास्तविक हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा अनुसन्धानका लागि नियन्त्रणमा लिएका एक व्यक्तिको हात भाँचिएको छ । तर घटनाहुँदा थुनुवा कक्ष बाहिरका प्रहरी रमिते बने । थुनुवा कक्षमा बसेका थुनुवाहरुको आक्रमणले अनुसन्धानका लागि पक्राउ परेका एक विद्यार्थीको हात भाँचिएको छ । यद्यपी सुर्खेत प्रहरी घटनाबारे बेखवर छ । सुर्खेत प्रहरी कार्यालयका एसपी विदामा छन् । कार्यालयका जिम्मेवारी पाएका डिएसपी र प्रहरी निरिक्षक ध्रुव थापा घटना बारे जानकारी दिन मानेका छैनन् ।
आठविस नगरपालिका–५ दैलेख घर भएका तेज सोनीलाई प्रहरी हिरासत रहेका थुनुवाले हान्दा उनको दाहिने हात भाँचियो । उनी सुर्खेत हस्पिटलमा उपचारार्थ छन् । साथीहरुले आर्थिक सहयोग जुटाएर हात प्लाष्टर गरेको सोनीले बताए ।
के छ कानुनी प्रवाधान ?
जिल्ला बार सुर्खेतका अध्यक्ष एवम् अधिवक्ता नन्द भण्डारीले हिरासतमा लिएको व्यक्तिलाई शारिरीक र मानसिक रुपमा यातना दिएमा यातना तथा क्षतीपूर्ती ऐन अन्तरगत मुद्दा चलाउन सकिने बताए ।
अनुसन्धानको क्रममा राखिएको व्यक्तिमाथि यातना वा अन्य केही भएमा त्यसको जिम्मा त्यहा कार्यरत प्रहरी र पक्राउ गर्न आदेश दिने व्यक्तिलाई कारवाही गर्न सकिने कानुनी प्रावधान भएको उनले उल्लेख गरे । अंगभंग हुने गरी देखिने चोट भए डाक्टरको रिपोर्टले प्रमाणित गर्ने भएकाले सुरक्षा दिने जिम्मेवारी पाएको प्रहरीलाई कारवाही हुने उल्लेख गरे ।
सोमबार विहान वीरेन्द्रनगरको यरीचौकमा साथीसंग चिया पसलमा बसेका सोनी र उनका साथी पञ्चपुरी नगरपालिका–८ बावियाचौरका सन्तोष खड्कालाई प्रहरीले अनुसन्धान गर्ने बहानामा पक्राउ पुर्जी विनै हिरासत पु¥यायो । हिरासत कक्ष पुगेको दुई घण्टामा सोनीको हात भाँचिसकेको थियो ।
‘यरीचौकमा चिया पिउन बसेका थियौं, प्रहरीको भ्यान आयो र हामीलाई पक्राउ ग¥यो’ सोनीले भने,–‘सिधै क्षेत्रीय अस्पतालमा चेकअप गराएर प्रहरी कार्यालयको हिरासतमा लियो, प्रहरीले भित्र हाले लगत्तै हामी माथि आक्रमण भयो ।’ थुनुवा कक्षमा रहेका ८ जनाले आफूहरुलाई हानेको सोनीले पश्चिमनेपाललाई जानकारी दिए ।
‘हामी माथि उनी (थुनुवा) हरु हान्न थाले, प्रहरीलाई बचाई दिन आग्रह गर्दा पनि रमिते बनेर हेरिरह्यो’ सोनी थप्छन्,–‘हिरासतमा लिएका व्यक्तिलाई भित्रका थुनुवाहरुले हान्छन भन्ने सुनेको थिए, तर आज हात भाँच्चिने गरी कुटाई खाए प्रहरी मुकदर्शक बन्यो ।’
वीरेन्द्रनगरस्थित सिद्धपाइला क्याम्पसमा अध्ययनरत सोनी र खड्का भाडामा बस्दै आएका थिए । वीरेन्द्रनगरकै रामु मल्ललाई कुटपिट गरेको भन्दै प्रहरीले पक्राउ गरेको सोनीले बताए पनि यस विषयमा प्रहरीले घटनाको बास्तविकता बारे जवाफ दिन मानेको छैन् । एसपी र डिएसपी जिल्ला बाहिर रहेको बेला प्रहरी कार्यालयको जिम्मेवारी पाएका प्रहरी निरिक्षक ध्रुव थापालाई पटक–पटक पश्चिमनेपालले सम्पर्क गर्न खोज्दा उनीसंग सम्पर्क हुन सकेन् ।