☰ open Loading... 24 November 2024|  

‘स्थिर राजनीति आवश्यक’
  | ५ पुष २०७४, बुधबार १८:२३

सुर्खेत । मुलुकमा स्थायी शान्ति कायम गर्नका लागि राजनीति स्थिरता हुनुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन । विहिबार वीरेन्द्रनगरमा व्यवस्थापिका–संसद सचिवालयले आयोजना गरेको शान्ति प्रक्रिया र संविधान कार्यान्वयन विषयक छलफल तथा अन्तरक्रियामा सहभागीहरुले यस्तो बताएका हुन । ‘जब राजनीति स्थिर हुँदैन तबसम्म मुलुकमा द्वन्द्व कायम रहन्छ’ सहभागीहरुले भने ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले राजनीति रुपमा द्वन्द्व समाधान भएता पनि कार्यान्वयनका चरणमा अझै पुग्न सकेको बताए । ‘१० वर्षे जनयुद्वमा वेपत्ता र मारिएका व्यक्तिका आफन्तहरुले अझैपनि न्याय पाउन सकेको छैनन्’

प्रमुख जिल्ला अधिकारी कार्कीले भने, ‘अझैपनि वेपत्ता भएका र मारिएका व्यक्तिहरुको विवरण एउटै ठाउँबाट पाउन सक्ने आवस्था छैन ।’ राजनीतिक रुपमा बनेको संविधान पाएका बताएका उनले त्यसको अभ्यासमा गई प्रयोग गर्दै जानु पर्ने धारणा राखे ।

शान्ति प्रक्रियाका केही कामहरु सैद्धान्तिक र व्यवहारिक भइसकेको बताए । वेपत्ता आयोग र मेलमिलाप आयोगको काम छुटाउन बाँकी रहेको उनले जानकारी दिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छविलाल सिग्देलले स्थायी शान्ति कायम गर्न स्थायी सरकारको खाँचो पर्ने बताए । कार्यक्रममा स्थानीय शान्ति समितिका सुर्खेतका संयोजक मोहन थापाले मुलुकलाई संस्थागत रुपमा सुधार नगरेसम्म मुलुकमा द्वन्द्व कायम रहेन बताए ।

व्यवस्थापिका–संसद सचिवालयका सह–सचिव मुरारी महरले आफुहरु शान्ति प्रक्रिया र संविधान कार्यान्वयन गर्नका लागि सुझाव संकलन गर्न आएको जानकारी दिए । हाल सचिवालयले सबै प्रदेशमा सुझाव संकलन गर्ने कार्य राखेको उनले बताए ।