☰ open Loading... 25 November 2024|  

‘छोरा’ तिहार मनाए कर्णालीवासीले
  | ५ पुष २०७४, बुधबार १९:५०

रामचन्द्र न्यौपाने 
दुनै, डोल्पा  । भाइ तिहार सकिएको दुई महिनापछि बुधबार कर्णालीवासीले छोरा तिहार मनाए । नेपालमा कतै पनि नमनाइने छोरा तिहार प्रत्येक वर्ष पौष शुक्ल द्वितीयका दिन कर्णालीका जुम्ला र डोल्पाका सर्वसाधारणले धुमधामका साथ मनाउने गर्दछन् ।

छोरा तिहारमा आमाले छोरालाई निधारमा अक्षता, गलामा माला र सगुनका रुपमा घरमै बनाइएको सेलरोटी, फिनीरोटी, चिनीरोटीजस्ता परिकारसहित टीका लगाइदिने चलन छ ।

टीकासँगै छोराको दीर्घायु र प्रगतिको कामना गर्दै आर्शिवाद दिने गरिन्छ । छोराले पनि आमालाई दक्षिणाका रुपमा पैसा, धोती चोलीलगायतका सामग्री दिएर टीका थाप्छन् ।

छोरा तिहारमा आमाको हातबाट टीका थापिसकेपछि सम्पूर्ण पुरुष जम्मा भई प्रत्येक घरघर तथा गाउँ बस्तीमा पुगेर भैलो खेल्ने चलन छ ।

आजको दिन महिला पनि सार्वजनिक स्थलमा भेला भएर चुट्किला देउडा खेलेर रमाइलो गर्ने र एकअर्काको पिरव्यथा साटासाट गर्ने गर्छन् ।

भैलोको भाका यस्तो हुन्छ ः
आउँशीया बार भैलो
दरमुद बार भैलो
दरमुद्यया खोली भैलो
बाँस झोली भैलो
बाँसभित्र भैलो
आ¥या न ता¥या भैलो
पिपलु पाती भैलो
रायकी छाती भैलो
बखरी खानु भैलो
त्यो बाखरी कसो सुवाला भैलो
कसो सुवाला भैलो
भैलो दिने घरीनाको एक कान सुन छ भैलो
एक कान मोती भैलो
सूर्यकी ज्वति भैलो
भेडो दिन्नन् डो¥याइए ल्याउला भैलो ।
घोडो दिन्नन चढी ल्याउला, त्यहीँ पर जाउँला पिरती लगाउँला भैलो
पिरतीका बार भैलो
आकाश जरा भैलौ पात्तला शीला भैलो ।।

भाइ तिहारमा खेलिनेलाई देउसी र छोरा तिहारमा खेलिनेलाई भैलो भनिने त्रिपुरा सुन्दरी– १ का स्थानीयवासी रविप्रसाद न्यौपानेले बताए ।

उनका अनुसार भैलो खेलेर मागेको चामल, धान, पैसा सबै भैलो खेल्न गएका सबै जना मिलेर पाठी भात (स्थानीय भाषामा) खाने गर्छन् । छोरा तिहारमा आमा नहुनेले भने स्थानीय मन्दिरमा गएर पुजारीको हातबाट टीका अक्षता लगाउँछन् । scoure nepal aaj/rss