☰ open Loading... 20 September 2024|  

कालीकाेट हत्या काण्ड : गृहमन्त्रालयले बनायाे छानबिन समिति
  | ८ पुष २०७४, शनिबार १९:११

काठमाडाैं । गृहमन्त्रालयले कालिकोटमा प्रहरीको गोली लागी म्यादी प्रहरीको मृत्यु भएको घटनाको छानबिन गर्न समिति बनाएको छ । मन्त्रालयका सहसचिव मानबहादुर विश्वकर्माको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति बनाइएको छ ।

समितिमा नेपाल प्रहरीको डिआईजी रमेश खरेल, सशस्त्र प्रहरीका डिआईजी प्रवीण श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका लक्ष्मण गुरुङ रहेका छन्। सात दिनभित्र घटनाबारे सत्य-तथ्य बुझेर प्रतिवेदन तयार पार्ने जिम्मा समितिलाई छ ।

गृह मन्त्रालयले मृतक म्यादी प्रहरीका परिवारलाई दस लाख रुपैयाँ दिने निर्णय समेत गरेको छ । त्यस्तै उक्त घटनामा घाइते भएकाहरुलाई नि:शुल्क उपचार समेत गर्ने निर्णय गरेको छ ।

सेवासुविधा कम भएको भन्दै आन्दोलनमा उत्रिएका म्यादी प्रहरीमाथि कालिकोटको सदरमुकाममा प्रहरीले शुक्रबार गोली चलाउँदा म्यादी विवेक ऐडीको मृत्यु भएको थियो ।

यता, कालीकाेटकाे सदरमुकाम मान्म बजारमा स्थानीयबासीहरू समेत हत्याकाे विराेधमा अान्दाेलन चर्काएपछि कालीकाेट प्रशासन कार्यालयले निशेधाज्ञ क्षेत्र जारी गरेकाे छ । शनिवार दिनभर कालीकाेट बजार तनावग्रस्त बनेकाे थियाे भने यातायात र बजार पूर्ण रूपमा ठप्प थियाे ।