सुर्खेत । कालिकोटमा बिहान १० बजेदेखि पुन: अनिश्चितकालिन कर्फ्यू लगाइएको छ । शनिबार बेलुका तीन बजेदेखि जारी गरिएको कर्फ्यु दुई घण्टाका लागि हटाइएको थियो ।
सर्वसाधारण र म्यादी प्रहरीले विभिन्न माग राख्दै प्रदर्शन जारी राखेसँगै स्थानीय प्रशासनले फेरी कर्फ्यू जारी राखेको हो । घटनामा संलग्न प्रहरीलाई कारवाही गरिनुपर्ने, मृतकलाई सहिद घोषणा, पीडित परिवारलाई उचित क्षतिपूर्ति पाउनुपर्ने लगायतका माग राख्दै शनिबारदेखि कालिकोटमा प्रदर्शन जारी छ।
मन्त्रिपरिषदले मृतकलाई शहिद घोषणा नगरेसम्म प्रदर्शन जारी राख्ने म्यादी प्रहरीहरुको भनाइ छ । प्रदर्शन जारी भएसँगै आज पनि कालिकोटबाट सवारी साधन आवतजावतमा रोक लगाइएको छ ।
शुक्रबार प्रहरीले चलाएको गोली लागेर विबेक ऐडीको मृत्यु भएको थियो । ऐडीको मृत्युपछि कालिकोट तनावग्रस्त बनेको थियो भने दुई वटा प्रहरी चेकपोस्टमा समेत तोडफोड गरिएको थियो ।