☰ open Loading... 26 November 2024|  

जुम्लालाई पुर्ण सरसफाई जिल्ला घोषणा गर्न चुनौती
  | १० पुष २०७४, सोमबार १५:५१

सागर परियार
जुम्ला । २०७२ फागुन २० गते जुम्ला जिल्ला नेपालको ३५ औ जिल्लाका रुपमा खुला दिशामुक्त जिल्ला घोषणा भयो । खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले जुम्लालाई खुला दिसामुक्त घोषणा गरेका थिए ।

जुम्लाका ग्रामिण बस्तीमा शौचालय स्थापना तथा प्रयोग गर्ने बानीको विकास भए नभएको बारे कुनै निरीक्षण नगरी दिसामुक्त घोषणा गर्दा अहिले निकै समस्या भएको छ । त्यतिबेला, दिसामुक्त घोषणाका सुचक पुरा गर्नु भन्दा, पनि अन्य जिल्लाको रिसैले घोषणा गरियो । अहिले गाउँघरमा जताततै दिसैदिसा र अव्यवस्थित शौचालय देखिन्छन् ।

जुम्ला दिसामुक्त घोषणा भएको महिना दिन वित्न नपाउदै सरकारी तथा गैरसरकारी निकायले पुर्ण सरसफाई जिल्ला घोषणाको अभियान थाले । तर त्यो अभियान सफल बनाउन अहिले निकै चुनौती मानिएको छ ।

विभिन्न सरकारी तथा गैरसरकारी निकायको सहयोग तथा जिल्ला सरसफाई तथा स्वच्छता समन्वय समिति जुम्लाको अगुवाई पुर्ण सरसफाई अभियान संचालन भईरहेको छ । तर अभियानले साथर्कता नपाउने नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले बताए ।

यता पुर्ण सरसफाई अभियान चलिरेहका बेला तिला गाउँपालिका ५ डुङरीगाउँका स्थानीय बासी भने खुला रुपमानै दिसापिसाव गर्ने पाइएको छ । उक्त गाँउमा खुला दिसामुक्त क्षेत्र घोषणा छोएको छैनन् ।

गाउँमा खानेपानीको अभाव भएपछि स्थानीयले शौचालयमा दिसापिसाव गर्न छोडेका छन् । तर पनि विभिन्न निकायले लाखौ रकम खर्च गरी पुर्ण सरसफाईको अभियानलाई अघि बढाएका छन । दिसामुक्त घोषणा नै असफल भएको बेला पुर्ण सरसफाई जिल्ला कसरी बन्ला ?

निर्माण भएका शौचालय पनि जिर्ण

खानेपानी अभाव भएपछि निर्माण गरिएको शौचालय पनि प्रयोगविहिन भएका छन् । भने केही प्रयोग विहिन शौचालयहरु भत्कने अवस्था रहेका छन् । शौचालय प्रयोग गर्ने बानी नबसेका स्थानियका शौचालयमा घास पात, काठ दाउरा राख्ने गरिएको छ । प्रयोग नै नहुने भएपछि निमार्णधिन शौचालय कतिका भत्कीसकेका छन् ।

तिला गाउँपालिका ५ डुङरीगाउँमा झण्डै ४६ घरधुरी शौचालय विहिन छन् । भने केहि बनाएका शौचालय पनि अहिले उपयुक्त नभएको वडाध्यक्ष कालिबहादुर बुढाले बताए । उनले भने मान्छेलाई यो गाउँमा खानेपानीको त समस्या छ तर शौचालयमा सरसफाई गर्ने पानी अभाव हुँदा समस्या भएको हो । बानी नबसेकै कारण बनेका शौचालयहरु भत्कीने अबस्थामा पुगेका हुन् ।

जुम्लाका ४४ प्रतिशत घरधुरी शौचालयविहिन

पछिल्लो समय भएका विभिन्न अनुगमन तथा सार्वजानिक रिर्पोटले जुम्लाका झण्डै ४४ प्रतिशत घरधुरी अझै शौचालयविहिन छन् । जग्गा नभएका र प्रयोग गर्ने बानीको विकास नभएका कारण शौचालय विहिन भएका हुन् । जिल्लालाई खुला दिशामुक्त घोषणा भईसक्दा पनि अझै नागरिक शौचालयबिहिन भएपछि पुर्ण सरसफाई जिल्ला घोषणाको लागि चुनौती भएको खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय जुम्लाका प्रमुख टंक सोडारीले बताए ।

उनका अनुसार गाउँमा निर्माण गरिएका शौचालयमा प्रयोग गर्ने बानीको विकास नभएका कारण पनि शौचालय प्रयोग नगर्नेको संख्या बढ्दै गएको छ । खुला दिशामुक्त वडा तथा गाविस घोषणा पश्चात त्यसको कार्यान्वय पक्ष फितलो भएकाले पनि सरसफाई क्षेत्रमा चुनौती थपिदै गएको हो ।

ग्रामिण क्षेत्रमा अब स्वास्थ्यसंग सम्बन्धित निकाय तथा स्थानीय तहले शौचालय निमार्ण देखि प्रयोग गर्ने बानीको विकास गर्न तर्फ जोड दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।

खानेपानी तथा सरसफाई स्वछता समन्वय समितिका अध्यक्ष तथा जिससका प्रमुख लालबहादुर सार्कीले हरेक स्थानीय तहले शौचालय बिहिन घरलाई शौचालय स्थापनाको लागि पहल गर्न सुझाब दिए ।

यता, एसएनभी जुम्लाका वास सल्लाहकार टिकाराम खड्का अनुसार अझै पनि जुम्लाका ४४ प्रतिशत घरधुरी शौचालयबिहिन छन् भने निर्माण गरेका मध्ये पनि २५ प्रतिशतले अझै शौचालय प्रयोग नगर्ने गरेको बताए ।

सरसफाई रणनीतिबारे जानकारी दिदै उनले अहिलेसम्म नेपालका साविकका गाविस ३ हजार १ सय ५७ मध्ये २ हजार ५ सय ६४ गाविस मात्रैै खुला दिसामुक्त घोषणा भएका छन् ।