☰ open Loading... 24 November 2024|  

अनुमतिबिनै धमाधम काइनाइट उत्खनन
  | १५ पुष २०७४, शनिबार १४:३८

कालिकोट ।  कालिका गाउँपालिका – ३ भर्तास्थित बुकीमालिका सामुदायिक वनमा रहेको खानीबाट करोडौं रुपैयाँको काइनाइट तस्करी हुँदै आएको छ । काइनाइट पत्थरको खानी रहेको उक्त सामुदायिक वनमा तीनजना ठेकेदारले ५६ वर्षदेखि अवैध उत्खनन तथा ओसारपसार गर्ने गरेको पाइएको छ । उनीहरूले स्थानीय निकायको स्वीकृति नलिई अवैध तस्करी गरेका हुन् ।

यस विषयमा कालिकोटको १८ औं जिल्ला परिषद्मा स्थानीय नागरिकले आवाज उठाएका थिए । परिषद्ले जिल्लाको सम्पत्ति अवैध रूपमा चोरीनिकासी भइरहेको भन्दै तत्कालका लागि उत्खनन बन्द गर्ने निर्णय गरेको स्थानीयको भनाइ छ । तर अझै पनि खानी तथा भूगर्भ विभागबाट लाइसेन्स लिएका ठेकेदार हरीशचन्द्र चलाउने, डबलसिंह माझी र गोपालप्रसाद पाण्डेहरूले अवैध रूपमा काइनेटिक खानी उत्खनन तथा ओसारपसार गर्दै आएका छन् । कानुनी प्रक्रिया नपुगेको र स्थानीय निकायले निर्धारण गरेको शुल्कसमेत नतिरी उनीहरूले काइनाइट उत्खनन गरिरहेको बताइएको छ ।

जिल्ला विकास समितिले २०६९ सालमा बनाएको खनिज पदार्थ संकलन निर्देशिकाअनुसार स्थानीय रोएल्टी नतिरेरै रातारात काइनाइट ओेसारपसार भइरहेको उनीहरूको भनाइ छ । नियमको पालना नगरी करोडांै रुपैयाँबराबरको काइनाइट चोरीनिकासी गर्ने ठेकेदारलाई कानुनी कारबाहीको प्रक्रियामा ल्याउनुपर्नेमा स्थानीयको जोड छ । कालिकोटको काइनाइट उत्खनन गरी दैलेखमा गोदाम बनाई यसलाई भारततर्फ पठाउने गरिएको स्थानीयको भनाइ छ ।

दैलेखको सिमानासँग जोडिएको भर्ताको मदाने क्षेत्रमा विपीन एन्ड अभि खनिज उद्योग प्रालि र अन्य दुई ठेकेदारले ठूलो परिमाणमा काइनाइट उत्खनन गरी भारत निकासी गरिरहेको स्थानीयको आरोप छ । गाउँपालिका, वडापालिका एवं जिल्ला समन्वय समितिको अनुमतिबिनै राजस्व छलेर निकासी भइरहेको कालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागार्इंले बताए । ‘काइनाइट उत्खननको नाममा २० मिटरका बंकर बनाएर सयौं रुख नष्ट गरिएका छन्’, उनले भने, ‘ठाउँठाउँमा पहिरो गएको छ ।’

विपीन एन्ड अभि खनिज उद्योगका सञ्चालक गोपाल पाण्डे, ठेकेदार डबलसिंह माझी, हरिचन्द्र चलाउनेलगायतले मिलेमतोमा बहुमूल्य ढुंगा भारतमा तस्करी गरिरहेको कालिका गाउँपालिका९३ का अध्यक्ष धनराज शाहीले बताए । सरोकारवालाले चासो नदिँदा ६ नं प्रदेशकै आर्थिक सम्भावना बोकेको यो खानी नष्ट भइरहेको उनको भनाइ छ । ‘हामीले अवैध उत्खनन रोक्न धेरै प्रयास ग¥यौं’, उनले भने, ‘तर अझै सकेनौँ ।’

विपिन एन्ड अभि खनिजले २०५९ असार, ठेकेदार माझीले ०६५ र चलाउनेले ०५९ सालमा खानी तथा भूगर्भ विभागबाट उत्खनन इजाजतपत्र लिएका थिए । तर उनीहरूले २०५६ सालदेखि नै उत्खनन सुरु गरेको स्थानीयको भनाइ छ । डेढ दशकसम्म ठेकेदारहरूले गाविस, जिविस र अहिले गाउँपालिका, वडापालिकामा राजस्व तिरेका छैनन् ।

खानी उत्खनका लागि जंगलभित्र कामदार बस्ने टहरा बनाइएको छ । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि तत्कालका लागि भनेर उत्खनन कार्य रोक्न लगाइए पनि रातारात अवैध उत्खनन भइरहेको गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईंले बताए । विपीन एन्ड अभिले उत्खनन सुरु गरेदेखि एउटा आर्थिक वर्ष २०७१÷०७२ मा मात्र जिविसमा राजस्व तिरेको वडा सचिव मोहन न्यौपानेको भनाइ छ ।

‘ठेकेदार डबलसिंह माझी र हरिचन्द्र चलाउनेले हालसम्म राजस्व तिरेका छैनन् । खनिज उत्खनन गर्नुअघि खोजीका क्रममा वन विभागबाट अनुमति लिनुपर्छ । वातवरण संरक्षण नियमअनुसार जंगल फडानी नगरी खनिज झिक्ने प्रक्रिया सुरु गर्नुपर्ने जिल्ला वन कार्यालय कालिकोटका सहायक वन अधिकृत विमल शर्माले बताए । एक घनमिटरमा रहेको तीन मिटरबराबरमा क्षेत्रमा रहेको काइनाइट उत्खनन गर्न पाउने खानी तथा भूगर्भ विभागको नियम छ । अवैध रूपमा उत्खनन नहोस् भनेर यसअघि गविसको बजेटबाट चौकीदार राखिएको थियो । तर उनीहरूको पनि मिलमतोमा अवैध उत्खनन हुने गरेको उनको भनाइ छ । त्यसैले वडापालिकाको बैठक बसेर पुराना चौकीदार हटाएर नयाँ ६ जना नियुक्त गर्ने निर्णय भएको वडाध्यक्ष धनराज शाहीले बताए ।

कालिका गाउँपालिका –३ भर्ताको तीन हजार ६ सय ९९ हेक्टर क्षेत्रफलमध्ये दुई हजार सात सय ७९ हेक्टर मदाने वनक्षेत्रमा बहुमुल्य काइनाइट छ । खनिज उत्खननका लागि सयौं कामदार घरटहरा बनाएर वन क्षेत्रभित्र बस्दै आएका छन् । यसबाट रूख कटान एवं वन्यजन्तुको चोरीसिकारीसमेत बढेको जिल्ला वन रक्षक वीरेन्द्रप्रसाद आचार्यले बताए ।

ठूलाठूला बंकर खनेपछि वनक्षेत्रमा पानीका मुहानसमेत सुकेका छन् । ‘वन क्षेत्रमा पाइने पाँचऔंले, कटुको, सतुवालगायत जडिबुटीको पनि अवैध निकासी भइरहेको छ’, उनले भने ।