☰ open Loading... 19 April 2024|  

बराहताल गाउँपालिकालाई “नमुना” बनाउने प्रतिबद्धता
  | १६ पुष २०७४, आईतवार १९:०१

सुर्खेत । बराहताल गाउँपालिकालाई जिल्लाकै नमुना गाउँपालिका बनाउने राजनीतिक दल, जनप्रतिनिधि र कर्मचारीहरुले प्रतिबद्धता जनाएका छन् । आइतबार वीरेन्द्रनगरमा आयोजित गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि आयोजना गरिएको योजना तर्जुमा, बित्त व्यवस्थापन, राजश्व र सुशासन सम्बन्धी अभिमुखिकरणमा यस्तो प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा बराहताल गाउँपालिकाका अध्यक्ष तेज बहादुर बस्नेतले बराहताललाई नमुना गाउँपालिकाका रुपमा पहिचान गराउन आफुहरु लागिरहेको बताए । सबै मिले नमुना बनाउन सकिन्छ, उनले भने, सबैको साथ र सहयोग उत्तिकै महत्वपूर्ण छ । निर्वाचनमा बेला राजनीतिक लडाई भएपनि बराहताललाई नमुना बनाउनेमा सबैको एकता आवश्यक रहेकोमा उनको जोड थियो ।

उपाध्यक्ष शोभा शर्माले बराहताललाई विकास र समृद्धिको हिसावमा नमुना बनाउन जनप्रतिनिधिहरुले कुनै कसर बाँकी नराख्नेमा जोड दिईन् । सामाजिक, आर्थिक र विकास लगायत सबै दृष्टिकोणबाट बराहताल नुमना बनाउन सकिन्छ, उनले भनिन्, यसका लागि सबैको सोच एकै हुन जरुरी छ ।

कार्यक्रममा नेपाली कांग्रेसका सचिव टोप बहादुर रावतले बराहताललाई समृद्ध बनाउन राजनीतिक पार्टीहरु एक रहेकोमा जोड दिए । सबै राजनीतिक पार्टीहरु एक छौ, उनले थपे, बिशेष योजना सहित अगाडी बढौ यसमा हाम्रो साथ सहयोग सदैव रहिरहनेछ । नेकपा एमालेका जिल्ला कमिटि सदस्य घनश्याम पाण्डेले नयाँ संरचनामा काम गर्दा आजसम्म स्थानिय तहमा अलमलको अवस्था रहेको औल्याउदै अब विकास र समृद्धिको ठोस योजना सहित अगाडी बढ्नुपर्नेमा जोड दिए ।

उनले सहि मार्गदर्शनका लागि अभिमुखिकरण कार्यक्रम प्रभावकारी रहेको औल्याए । नेकपा माओवादी केन्द्रका जिल्ला कमिटि सदस्य इश्वरभक्त सुनारले बराहताल गाउँपालिकालाई दुर्गम भनिएपनि सबै एकजुट भए नमुना बनाउन सकिने बताए ।

राजनीतिक दल, कर्मचारी र जनप्रतिनिधिको समन्वय र सहकार्य प्रभावकारी भए अवको पाँच वर्षमा नमुनाका रुपमा विकास गर्न सकिनेमा उनको जोड थियो ।

बराहताल गाउँपालिका र किर्डाक नेपालको समन्वयमा आयोजना गरिएको अभिमुखिकरणमा गाउँपालिकाका प्रशासकिय अधिकृत परशुराम उपाध्यायले योजना तर्जुमा, बित्त व्यवस्थापन, राजश्व र सुशासनका बिषयमा सहजिकरण गरेका थिए । कार्यक्रममा गाउँकार्यपालिकाका सदस्य, निर्वाचित जनप्रतिनिधीहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो ।