सुर्खेत । कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री ह्दयराम थानीले आ–आफ्ना कमी कमजोरीहरु सच्याउन नसक्नेहरु पार्टी छोडेर गए हुने बताएका छन् । उनले विगतमा भएका कमीकमजोरीले निर्वाचनमा पार्टी पराजित भएको हुँदा अव सवैले आ–आफ्ना कमजोरी सच्याएर अगाडि बढ्नुपर्ने बताएका हुन् ।
यदि सधैं अरुलाई दोषमात्र लगाउने तर आफ्ना कमीकमजोरीहरु सच्याउन सकिदैंन भने त्यस्ताले पार्टी छोडेर जानसक्ने उल्लेख गरे । विहीवार पूर्वी सुर्खेतका छिन्चु, मैनतडा, मेहेलकुना, सहारे, घुमखहरे, गुमी र लेखफर्साका मतदातासंग भेटघाट गर्दै नेता थानीले पार्टीलाई क्रियाशील र मजबुत बनाउने होभने सवैले आफ्ना कमजोरीहरु सच्याउनुपर्नेमा जोड दिए ।
उनले कारबाहीभन्दा पनि आफ्नो गल्ती सच्याएर अगाडि बढ्नु नै संगठन विस्तारको राम्रो बाटो भएको बताए । कारबाही मात्रै समाधानको बाटो होइन भन्दै थानीले सर्वप्रथम आफू सच्चिने र यदि सच्चिन नसक्ने भए पार्टी छोडेर गए हुने सुझाव दिए । थानीले आफू पराजित भएपनि जिल्लाको विकासका लागि सदैव लाग्ने प्रतिवद्धतापनि दोहो¥याए ।
कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले विगतमा केही कमीकमजोरीहरु भएका कारण निर्वाचनमा पार्टीले हारेको भन्दै अव पाठ सिकेर पार्टीलाई गाउँगाउँ मा क्रियाशील बनाउनुपर्नेमा जोड दिए ।
गुमीका वडासभापति पदम गुरुङले गल्ती गर्नेहरुलाई कारबाही गर्नुपर्नेमा जोड दिएका थिए । लेखफर्साका सभापति देवेन्द्र पचभैयालगायतका कार्यकर्ताहरुले कांग्रेसको आगामी दिशालगायतका वारेमा जिज्ञासा राखेका थिए ।
ती कार्यक्रमहरुमा कांग्रेस सुर्खेतका कोषाध्यक्ष अनन्त पौडेल, जिल्ला समन्वय समिति सुर्खेतका सदस्य वीरसिंह घर्ती, क्षेत्रीय सभापति नारायण कोइरालालगायतको उपस्थिति थियो ।