जाजरकोट । जुनीचाँदे गाउपालिकामा दुई सातादेखि फैलिएको भाइरल ज्वरोले ६ जनाको मृत्यु भएको छ । ज्वरोले उक्त गाउँपालिकाका २ हजार स्थानीय विरामी छन् ।
ज्वरोले जुनीचाँदे २, मजकोटकी ६५ वर्षीया धनसरा नाथ, ५३ बर्षीया आइती तिरुवा, ७२ बर्षीय सतरुप शाही र नाम नखुलेका ३ नवजात शिशुको मृत्यु भएको छ। भाइरलका कारण उनीहरुको मृत्यु भएको स्वाथ्य चौकी बड्कुलेका इन्चार्ज हरिबहादुर सिंहले बताए ।
भाइरलले रोगविरुद्ध लड्ने शक्ति कमजोर भएका ब्यक्तिको मृत्यु भएको उनले बताए। चिसोका कारण भाइरलको प्रकोप फैलिएको उनले बताए। ज्वरोका कारण जुनीचाँदे १, २ र ३ का २ हजार स्थानीय थला परेको इन्चार्ज सिंहले बताए। भाइरलको प्रकोप नियन्त्रमा ल्याउन नसके विरामीको संख्या अझै बढ्ने उनले बताए।
विरामीमा ज्वरो आउने, हातखुट्टा दुख्ने, चिट्चिट पसिना आउने, सुख्खा खोकी लाग्ने, घाँटी दुख्ने, श्वासप्रश्वास बन्द हुने, आँखा रातो हुने लगायत लक्षण देखा परेको सिंहले बताए। स्वास्थ्य चौकीमा दैनिक १ सय जना भाइरलका विरामी उपचारका लागि आउने गरेका छन्।
भाईरलका विरामी स्वास्थ्य संस्थामा उपचारमा नआई धामी झाँक्रीको झारफुकमा जाने गर्दा रोग घट्नुको साट्टो तिब्र रुपमा फैलिने समस्या भएको उनले बताए। जुनीचाँदे जुनी, चाँदे, काप्रा, बड्कुले, कार्कीगाउँ, मजकोट, आलीमौगाना, डाँडाकोट र परालेमा भाइरल ज्वरोको प्रकोप देखा परेको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण केसीले बताए।
गाउँ गाउँमा भाइरल ज्वरोका विरामी थलिएको अध्यक्ष केसीले बताए। भाइरलका विरामी सबैभन्दा बढी मजकोटमा रहेको उनले बताए। एउटै घरमा ३/४ जनासम्म विरामी परेको केसीले बताए। त्यस्तै छेडागार नगरपालिकाको सुवानाउली र टीकाचौरमा पनि भाइरलका विरामी बढ्न लागेको उनले बताए।
भाइरलको प्रकोप फैलिएको सुचना पाएलगतै महामारी फोकल पर्सन कृष्ण खत्रीको टोलीलाई जुनीचाँदेतर्फ पठाएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपालीले बताए । रोग प्रभावित क्षेत्र ३२ कोष टाढा रहेको उनले बताए। रोग प्रभावित क्षेत्रमा १ ट्याक्टर औषधीका साथै स्वास्थ्यकर्मी पठाइएको उनले बताए ।
रोगको पहिचानका लागि टेक्निसियनसहित एच १ एन १ को टेष्ट किड समेत प्रभावित क्षेत्रमा पठाएको उनले बताए। रोग प्रभावित क्षेत्रमा विरामीको थप उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटबाट डा. पवन शाक्यको नेतृत्वमा थप टोली पठाएको कार्यालय प्रमुख नेपालीले बताए ।