सुर्खेत । प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सकिएको एक महिना वितिसक्दा उम्मेदवारहरुले आफ्नो चुनावी खर्च विवरण बुझाउन आनाकानी गरिरहेका छन । निर्वाचनको मतपरिणाम घोषणा भएको लामो समयसम्म पनि जिल्लामा निर्वाचन लडेका अधिंकास उम्मेदवारहरुले चुनावी विवरण बुझाउन आलटाल गरिरहेका खबर आजको साझा बिसौनी दैनिकमा छापिएको छ ।
निर्वाचन परिणाम सार्वजनिक भएको ३५ दिनभित्र उम्मेदवारले आफ्नो चुनावी खर्चको विवरण निर्वाचन आयोगलाई बुझाउनु पर्ने कानूनी प्रवाधान रहेको छ । तर सुर्खेतमा ४८ जना उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण बुझाएका छैनन् । निर्वाचन कार्यालय सुर्खेतका अनुसार निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा बिजयी सांसद ध्रुबकुमार शाही, प्रदेशसभा (कं) मा विजयी ठम्बरबहादुर विष्ट, प्रदेशसभा (ख) मा विजयी सांसद खड्कबहादुर खत्रीले आइतबारसम्म आफ्नो खर्च विवरण बुझाएका छैनन् ।
यस्तै निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट विजयी सांसद विन्दमान विष्टले पनि खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन अधिकारी सुनिता थापाले बताईन । उनका अनुसार १० जना उम्मेदवारले मात्र खर्च विवरण बुझाएका छन । कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका कांग्रेसका नेता पुर्णबहादुर खड्काले चुनावमा १९ लाख ४९ हजार ५० रुपैयाँ खर्च गरेका छन । उनले खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएका छन ।
यस्तै प्रदेश सभा तर्फका सोही क्षेत्रको (क) बाट उम्मेदवार बनेका टेकबहादुर सिंहले ६ लाख १९ हजार ५० रुपैयाँ खर्च गरेको वितरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका छन । यस्तै निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा (ख)मा उम्मेदवार बनेका कांग्रेसका नेता झक्कबहादुर डाँगीले नौँ लाख ५१ हजार ६४७ रुपैयाँ खर्च गरेको विवरण बुझाएका छन ।
यस्तै निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यमा विययी सांसद नवराज रावतले पनि खर्च विवरण बुझाईसकेको कार्यालयले जानकारी दिइएको छ । सोही निर्वाचन क्षेत्रको (क) प्रदेश सभा सदस्यमा बिजय सांसद यामलाल कंडेलले १० लाख ९० हजार रुपैयाँ खर्चं गरेका छन ।
निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका कांग्रेसका नेता हृदयराम थानीले चुनावमा १२ लाख ३० हजार रुपैयाँ खर्च गरेको छन। निर्वाचन क्षेत्र नं. २ (ख) बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवार बनेका कांग्रेसका नेता तप्तबहादुर विष्टले १४ लाख १० हजार (क)का उम्मेदवार कमलराज रेग्मीले तीन लाख ८ हजार रुपैयाँ खर्च गरेको वितरण बुझाएका छन ।