सुर्खेत । गत पुस ८ गते विद्युत सर्ट हुँदा भएको आगलागीबाट क्षति भएका वीरेन्द्रनगरका व्यवसायीहरुलाई संयुक्त व्यवसायी समुह सुर्खेतले सहयोग रकम हस्तान्तरण गरेको छ ।
आगलागी पश्चात राहत रकम संकलन अभियान सुरु गरेको संयुक्त व्यवसायी समुहले आज एक औपचारिक कार्यक्रमको आयोजना गरेर व्यवसायीहरुले राहत रकम हस्तान्तरण गरेको हो । आगलागीबाट क्षति भएका १५ जना व्यवसायी समुहहरुलाई पूर्ण र आंशिक क्षतिका आधारमा २ तहमा राखेर समुहले रकम उपलब्ध गराएको छ ।
समुहले आंशिक क्षति भएका उदयबहादुर शाही, जिवन प्रसाद शाह, श्यामराज न्यौपाने, झोकप्रसाद पौडेललाई २१ हजार राहत रकम उपलब्ध गराएको छ ।
यसैगरी पूर्ण क्षति भएका रोशन तिवारी, स्यांजा सु-सेन्टर, डम्मर रोकाय, राजकुमार श्रेष्ठ, मकर श्रेष्ठ, गंगाबहादुर सैजु, डम्मर श्रेष्ठ, पुजा सिंह, भानुभक्त बराल, भुपेन्द्र लामिछाने र भिम आचार्यलाई ७१ हजार रुपैया राहत स्वरुप उपलब्ध गराईएको छ । राति १० बजे बसपार्क नजिक रहेका पसलहरुमा आगलागी हुँदा ४ करोड ३२ रुपैया क्षति भएको थियो ।
व्यवसायीहरुको राहत संकलन अभियानमा सबै भन्दा धेरै व्यवसायी सुर्य खड्काले ७१ हजार र पदम खड्काले ५१ हजार रुपैया संकलन गरेका थिए । सहयोग रकम हस्तान्तरण पश्चात बोल्दै वीरेन्द्रनगर नगरपालिका सुर्खेतका उपप्रमुख मोहनमाया ढकालले आगलागीको घटना दुखद भएको भन्दै नगरपालिकाका तर्फबाट सक्दो सहयोग उपलब्ध गराएको बताए । उनले आउँदा दिनमा यस्ता घटनाहरु हुन नदिनका लागि सचेत हुनुपर्ने उल्लेख गरे ।
यस्तै जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकिय अधिकृत मुकुन्दनाथ योगीले हालसम्म आगलागी पीडितहरुले जिल्ला प्रशासन कार्यालयबाट पहिलो चरणको राहत प्राप्त गरेको भन्दै संयुक्त व्यवसायीको राहत संकलन अभियानले पिडितहरुलाई सहयोग मिलेको बताउनु भयो ।
यता नेपाल राष्ट्रिय उद्याेग व्यापार संगठन सुर्खेतका अध्यक्ष सुर्यविक्रम थापाले व्यापारीहरुको छाता संगठन सुर्खेत उद्याेग वाणिज्य संघले राहतका लागि वास्ता नगरेपछि आफुहरु राहत संकलन अभियानमा जुटेको बताए । संयुक्त व्यवसायी समुहले ८ लाख ८६ हजार रुपैया संकलन भएकाे जनाएको छ ।