☰ open Loading... 27 November 2024|  

कहिलेसम्म सडकमा बालबालिका ?
  | २६ पुष २०७४, बुधबार ०८:४५

वीरेन्द्रनगर । सरोकारवालाहरुले सडक बालबालिकाको उचित व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएका छन् । महिला तथा बालबालिका कार्यालयले वीरेन्द्रनगरमा आयोजना गरेको सडक बालबालिकाको दिर्घकालिन पुनःस्थापनाका लागि सरोकारवालाको भुमिका विषयक अन्तरक्रियाका सहभागीले अब जिल्लामा रहेका सडक बालबालिकाको पुनःस्थापनाका लागि गम्भीर भएर लाग्ने प्रतिवद्धता जनाएको खबर आजको हाम्रो नयाँ नेपाल दैनिक छापिएको छ ।

तस्वीर ः चिन्तामणि शर्माको फेसबुकबाट

सरोकारवाला बिच गरिएको छलफलले सुर्खेतका सरकारी तथा गैरसरकारी संघसंस्थालाई सडक बालबालिकाको व्यवस्थापनका लागि सहयोग गर्न आग्रह गर्ने निर्णय पनि गरेको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले अभिभावकको लापर्वाहीका कारण सडक बालबालिका बढ्दै गएको बताए । उनले अहिले १७ जना बालबालिका भैरव युवा शसक्तिकरणमा राखिएको जानकारी दिँदै ति बालिबालिकाको अवस्था सुधारका लागि सबै मिलेर काम गर्ने र तीन महिनाको अवधिमा परिवारको जिम्मा लगाईने बताए ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले सडक बालबालिकाको उचित व्यवस्थापन गर्नका लागि मापदण्ड बनाई अघि बढ्ने प्रतिवद्धता जनाए । बालबालिका सडकमा आउनुमा समाज दोषी भएको ठहर गद हरेक तवरबाट समाज परिवर्तन हुनुपर्ने बताए । प्रमुख सुवेदीले सरकारले बालबालिकाको विद्यालय स्थापनाका लागि लाईसेन्स दिन आनाकानी गर्ने तर रक्सी विक्रि वितरण गर्नेलाई तत्काल लाईसेन्स दिने संस्कारको अन्त्य गर्नुपर्ने जिकीर गरे ।

यसैगरी, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले सडक बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले उनीहरुको आधारभुत आवश्यकता पुर्ति गर्न सहयोग गर्नुपर्ने आग्रह गरे । उनले सडक बालबालिकाहरु विभिन्न कुलतमा संलग्न भएको भन्दै उहाँले उनीहरुलाई यो लतबाट छुटाउन सबै लाग्नुपर्ने बताए ।

यस्तै, बाल संरक्षण अधिकृत प्रेमप्रसाद आचार्यले सडक आश्रित सबै बालबालिकालाई पुनःस्थापित गर्न आफुहरु लागिरहेको जानकारी दिए । सडक बालबालिकाको समस्या जटिल बन्दै गएकाले सुर्खेतस्थित सबै गैरसरकारी संस्था तथा स्थानीय सरकारको संयुक्त पहल आवश्यक भएको औँल्याए ।जिल्लाभर अनाथ बालबालिकाको संख्या मात्रै २ हजार भन्दा बढी रहेको भन्दै उहाँले अन्य जोखिममा रहेका बालबालिकाको संख्या अँझै जोखिमयुक्त रहेको बताए ।