☰ open Loading... 23 February 2025|  

डा. गोविन्द केसी बिना धरौटी तारेखमा रिहा,
  | २६ पुष २०७४, बुधबार १८:५७

काठमाडौँ  ।  सर्वोच्च अदालतले डा। गोविन्द केसीलाई बिना धरौटी तारेखमा रिहा गरेको छ । केहीबेर अघि तयार भएको संक्षिप्त आदेशमा डा। केसीलाई उनका कानुन व्यवसायी एवम् वरिष्ठ अधिवक्ता डा। सुरेन्द्र भण्डारीको जिम्मा लगाउन भनिएको छ । साथै, अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीको प्रमाणपत्र विवादका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयबाट बुझ्ने भनिएको छ भने प्रमाणपत्रको सम्बन्धमा न्यायपरिषद्बाट कागज झिकाउने उल्लेख छ।

डा. शशी शर्माको मुद्दाबारे भने सर्वोच्च अदालतबाटै मिसिल झिकाएर अध्ययन गरिने आदेशमा उल्लेख छ।  न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलासले यो आदेश दिएको हो।

अदालतको मानहानी मुद्दामा केसी सोमबार साँझ पक्राउ परेका थिए। उनले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै अनसन सुरु गरेलगत्तै अदालतले उनलाई पक्राउ गर्ने आदेश दिएको थियो।

डा. केसीले प्रहरी हिरासतभित्र पनि आफ्नो अनसन जारी राखेका थिए। उनले आफ्नो माग पूरा नहुन्जेल अनसन जारी राख्ने बताएका छन्।

डा। केसीले आफ्नो बयानको क्रममा पनि प्रधानन्यायाधीश पराजुली भ्रष्ट भएकाले अनुसन्धान हुनुपर्ने माग गरेका थिए।