काठमाडौँ । दलीय सहमतिमा चाँडै प्रदेश प्रमुख तोक्ने तयारी भइरहेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडाैंमा आयोजना गरेको चियापान समारोहमा उनले प्रदेशसभाका सदस्यलाई शपथग्रहण गराउनका लागि पनि प्रदेश प्रमुख र केन्द्र तोक्न आवश्यक रहेको स्पष्ट पारेका हुन् ।
“विभिन्न जातजाति, समुदायको बसोबास रहेको हाम्रो मुलुकमा सबैको भाषा, संस्कृति र रहनसहनको संरक्षण गरी विविधतामा एकता कायम गर्दै राष्ट्रिय एकतालाई थप मजबुद तुल्याउन सबै राजनीतिक दलको सहकार्य जरुरी छ ।” प्रधानमन्त्री देउवाले भने ।
राष्ट्रिय एकता दिवसका दिन सरकारको तर्फबाट सार्वजनिक बिदा दिएर मनाउने निर्णय गर्नु अत्यन्तै सराहनीय रहेको उल्लेख गर्दै यसलाई सबै राजनीतिक दलले पनि स्वागत गरेको उपप्रधानमन्त्री तथा ऊर्जामन्त्रीसमेत रहेका राप्रपाका अध्यक्ष कमल थापाले बताए ।
राष्ट्रिय एकता दिवसका अवसरमा आज राष्ट्रपति र प्रधानमन्त्रीबाट राष्ट्र निर्माता शाहको शालिकमा माल्यार्पण गरेर दिवस मनाइएको छ, यसमा अब कुनै विवाद नभएको बताएका उनले पृथ्वीनारायणलाई कुनै राजनीति वा संस्थासँग जोडेर हेरिनुहुन्न, यो सम्पूर्ण नेपालीको साझा सम्मान भएकाे उल्लेख गरे ।
विगतमा हरेक वर्ष पुस २७ गते मनाइँदै आएकोमा दोस्रो जनआन्दोलनपछि सरकारले पृथ्वी जयन्तीको बिदा कटौती गरेपछि राप्रपाले हरेक वर्ष उक्त दिनलाई दिवसका रुपमा मनाउन माग गर्दै आएको थियो । यस वर्ष सरकारले पृथ्वी जयन्तीका अवसरमा औपचारिकरुपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।