☰ open Loading... 24 November 2024|  

अझै उघ्रिएन तराई
  | २८ पुष २०७४, शुक्रबार ०७:५२

नेपालगन्ज । बाँकेमा न्यूनतम र अधिकतम तापक्रम खासै अन्तर नहुने गरी तल झरेपछि चिसो झनै बढेको छ । बिहीबार यहाँको न्यूनतम तापक्रम ७ र अधिकतम ११ दशमलव २ डिग्री सेल्सियस छ । न्यूनतम र अधिकतम तापक्रमका बीचमा थोरैले अन्तर हुँदा बढी चिसो महसुस गरिएको नेपालगन्जस्थित हावापानी फिल्ड कार्यालयका निमित्त प्रमुख पलबहादुर विकले बताए ।

‘न्यूनतम र अधिकतम तापक्रमबीच जति अन्तर हुन्छ, त्यति नै न्यानो महसुस हुन्छ । यहाँको तापक्रममा खासै अन्तर नदेखिएकाले शरीर काम्ने गरी चिसो भएको हो,’ उनले भने, ‘त्यसैमा शीतलहर र सिरेटो चलिरहेकाले जनजीवन प्रभावित छ ।’

सातादेखि न्यूनतम र अधिकतम तापक्रम बढ्न नसेकेको हो । चिसोबाट जोगिन सर्वसाधारण दिनभर आगो तापेर बस्न थालेका छन् । नेपालगन्जस्थित भेरी अञ्चल अस्पताल र ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ । बालबालिकामा निमोनिया देखिन थालेको छ । श्वासप्रश्वासको समस्या लिएर अस्पताल धाउने वृद्धवृद्धा बढेका छन् । ‘दम, हल्का ज्वरो र छातीसम्बन्धी समस्याका बिरामी बढेको रिपोर्ट प्राप्त भएको छ,’ जिल्ला जनस्वास्थ्य कार्यालयका इपिडिमियोलोजीका फोकल पर्सन रामबहादुर चन्दले भने ।

सातायता चिसो अचाक्ली बढेको छ । दिनभर सिमसिम पानी परेजस्तै शीतलहर खस्छ । चिसो सिरेटो पनि उस्तै चल्छ । निरन्तर चलिरहेको सिरेटोले बढी चिसो महसुस गरिएको छ । भेरी अञ्चल अस्पतालका फिजिसियन डा। संकेत रिसालले चिसोका कारण रुघाखोकी, निमोनिया, दम, हल्का ज्वरोको समस्या लिएर उपचारका लागि आउने बिरामी बढेको बताए । ‘बिरामीको चाप निकै बढेको छ, चिसोबाट जोगिन तातो झोलिलो पदार्थ खान, घरमा भएका न्याना कपडा लगाउन पनि सुझाव दिइरहेका छौं,’उनले भने ।

्अरत्यधिक चिसो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाले चोकचोकमा आगो ताप्ने व्यवस्था मिलाएको छ । विपन्न बस्ती र सर्वसाधारणको बढी चहलपहल हुने स्थानमा आगो ताप्ने व्यवस्था मिलाइएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले बताए ।

्डोरम बस्तीमा कन्तबिजोग

बिहीबार पनि घाम नझुल्केपछि धनुषाको हंसपुर नगरपालिका–३ कठपुल्लाकी ५५ वर्षीया कुन्तीदेवी डोम निरास देखिइन् । वर्ष दिनकी नातिनी चिसोले थुरथुर कामिरहेकी थिइन् । पाँच वर्षे नातिको अवस्था पनि उस्तै थियो । बाध्य भएर रातिको खाना पकाउन संकलन गरिएको पात र दाउरा सल्काइन् । त्यसैको वरिपरि झुम्मिए डोम परिवार ।

देवा मरिक डोमकी पत्नी हुन्, कुन्ती । यो परिवारले झन्डै तीस वर्षअघि ऐलानी जग्गामा घरजम गरेको थियो । तीन छोरा, दुई बुहारी तथा चार नाति–नातिनासहित उनीहरू खुला चौरमा बनाइएको फुसको घरमा बस्छन् । ३ छोरीको भने विवाह भइसकेको छ । वर्षायाममा घर भत्किएको थियो । नयाँ फुसको घर लिपपोतसमेत गरिएको छैन । त्यसैले हावा छिरेर राति निदाउनै नसक्ने कुन्तीले बताइन् । ‘रातभरि हावा चल्छ । न्यानो लत्ताकपडा छैन । सिंगै परिवार घुरको वरिपरि बसेर रात बिताउँछौं,’ उनले भनिन् ।

डुम परिवार फुसकै भए पनि छाना भएको घरमा सुत्छ । उनीहरूकै छेउमा बस्ने तीन परिवार भने टेन्टमुनि बस्दै आएका छन् । प्लास्टिकको बोरा र पुरानो त्रिपालले बेरेर बनाइएको टेन्ट च्यातिन थालेको छन् । राजीन्द्र लाठौर, वीरेन्द्र र अशोक लाठौरको परिवार यसरी दुस्ख खेपिरहेका हुन् । उनीहरू गाउँ–गाउँ डुलेर लुतो, डन्डिफोर र उपियाँको औषधि बिक्री गर्छन् । चिसोले यो घुमन्ते परिवारको अवस्था दयनीय भएको छ । वृद्धवृद्धा काममा जान सकेका छैनन् । बालबालिका बिरामी पर्न थालेका छन् । राति घुर वरिपरि बस्नैपर्छ ।

‘पेसा नै गाउँ–गाउँ डुलेर औषधि बिक्री गर्नु हो । तर यस वर्षको जाडोमा काम गर्न सकिरहेका छैनौं,’ ६५ वर्षीय राजीन्द्रले भने । जाडोबाट जोगिन सरकारले विशेष प्याकेज घोषणा गरेको छ । केही गैरसरकारी संघ–संस्था र समाजसेवीले समेत दलित तथा विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेको सूचना सार्वजनिक हुँदै आएको छ । यी परिवारले भने हालसम्म कुनै किसिमको राहत नपाएको गुनासो गरेका छन् ।

टहरामै आगलागीपीडित

सिरहा सखुवाननकारकट्टी गाउँपालिका–४ सिमराहास्थित दलित खत्वे बस्तीका आगलागीपीडित चिसोमा टहरामै रात काट्न बाध्य छन् । राजविराजस्थित सहरी विकास डिभिजन कार्यालयले समयमै घर निर्माण नगरिदिँदा बढ्दो चिसोले उनीहरूको दैनिकी कष्टकर बनेको छ । ‘घर नबनेकाले एउटै टहरामा परिवारका पाँच जनासम्म सुत्छौं,’ जाडो छल्न टहराभित्र काखे छोरी च्यापेकी २५ वर्षीया गीतादेवी खत्वेले दुस्खेसो गरिन्, ‘टिनको छाना, त्रिपाल र प्लास्टिकले बेरेको टहरामा बस्नुपर्दा चिसोले रातभरि सुत्न पाउँदैनौं ।’

१० महिना बितिसक्दा पनि घर अधुरै रहेकाले टहरामा चिसो सहन बाध्य भएको उनले सुनाइन् । ‘हामी त जसोतसो रात काट्छौं,’ उनले भनिन्, ‘चिसोबाट बच्चालाई जोगाउन कठिन परेको छ ।’ १० महिनादेखि बनाउन सुरु गरेको दुई कोठे घर आधा मात्र निर्माण भएको छ । ३ वर्षीय छोरा गणेशलाई सम्हालिरहेकी पूनमदेवी खत्वे पनि टहरामै भेटिइन् । उनी पराल ओछ्याएको खाटमा जाडोले लगलग कामिरहेकी थिइन् ।

‘सरासरी घर बनाएको भए, दुई महिनामै पूरा भइसक्थ्यो,’ उनले गुनासो गरिन्, ‘समयमा पैसा नआउँदा घर बनाउन सकेनौं, अहिले चिसोमा कठ्यांग्रिन बाध्य छौं ।’ गीता र पूनम मात्रै होइन ऐलानी जग्गामा बसोबास गर्दै आएका सिमराहा दलित खत्वे बस्तीका २९ घर आगलागीपीडित परिवारको हालत एकैनासको छ । टहरामा महिला, बालबालिका र वृद्धवृद्धा मात्र भेटिन्छन् । बस्तीका पुरुष दिनभर रोजगारीका लागि बाहिरै हुन्छन् ।

गत वर्ष चैत २८ मा स्थानीय भोगेन्द्र मण्डल खत्वेको चुलोमा खाना पकाएर खरानी फालेको ठाउँबाट आगलागी हुँदा बस्तीका २९ परिवारका ५६ घर जलेका थिए । आगलागीमा एक करोडभन्दा बढीको क्षति भएको थियो । त्यतिखेर पश्चिमा हावा चलेका कारण क्षणभरमै खर र टायलले छाएको झुरुप्पको बस्ती आगोले सखाप भएको थियो ।

आगलागीमा बस्ती सखाप भएपछि राजविराजस्थित सहरी विकास डिभिजनले जनता आवास कार्यक्रम अन्तर्गत वैशाख अन्तिम साताबाट बरन्डासहितको दुई कोठे इँटाको गारो लगाएर घर निर्माण सुरु गरेको थियो । घर बनाउन रकम निकासाका लागि प्रत्येक घरधुरीले बैंकमा खाता खोले । घर बनाउनका लागि घुरन खत्वे मण्डल र हरेराम मण्डलको अध्यक्षतामा नौरनौ सदस्य रहेको दुईवटा ‘निर्माण समिति’ गठन भए ।

टिनले छाएको दुई कोठा र बरन्डा घर निर्माणका लागि प्रति घर निर्माणका लागि २ लाख ५ हजार २ सय ३७ रुपैयाँ ३५ पैसा लागतका दरले १५ घरका लागि समितका अध्यक्ष घुरन र बाँकी १४ घरका लागि हरेराम सम्मिलित समितिसँग कार्यालयले सम्झौता गर्‍यो । पहिलो किस्ताबापत प्रतिघर ५० हजार रुपैयाँ प्रत्येक घरधुरीलाई भुक्तानी दिएपछि घर निर्माण सुरु भयो ।

दोस्रो किस्ता रकम आएपछि आधा घर निर्माण भइसके पनि कार्यालयले तेस्रो किस्ता रकम निकासा नगरेका कारण काम रोकिएको समिति अध्यक्ष हरेरामले सुनाए । ‘एकातिर आगलागीपीडित छौं, अर्कातिर जनबनमा गएन भने चुल्होमा आगो बल्दैन,’ हरेरामले भने ।
पीडित आफैंले लगानी रकम लगाउन नसक्ने समितिका अर्का अध्यक्ष घुरनले बताए । ‘एकमुष्ट रकम निकासा पाएको भए दुई महिनाभित्र घर निर्माण भइसक्थ्यो, चार किस्तामा कार्यालयले रकम उपलब्ध गराउने भएकाले पनि १० महिना बितिसक्दा घर पूरा हुन पाएन,’ उनले भने । दुई महिनामा निर्माण पूरा भइसक्नुपर्ने घर किस्तारकिस्तामा रकम उपलब्ध गराएकै कारण टहरामा चिसो रात काट्न बाध्य भएको उनले दु स्खेसो गरे ।

‘यही अवस्था रहे वर्षा पनि टहरामै काट्नुपर्ने हुन्छ,’ उनले भने । सखुनान्कारकट्टी गाउँपालिकाका प्रमुख केदार यादवले घर निर्माण छिटो गर्न पटक–पटक आग्रह गरे पनि कार्यालयले झन्झटिलो प्रक्रिया देखाउने गरेको बताए । डिभिजन प्रमुख रमेश सिंह चार किस्ता गरी रकम उपलब्ध गराउनुपर्ने झन्झटिलो प्रक्रियाका कारण पनि घर निर्माणमा ढिलाइ भएको स्वीकार्छन् ।

कम्बल वितरण

शीतलहर र अत्यधिक चिसोले कष्टकर जीवन बिताइरहेका सिमराहा आगलागीपीडित दलित समुदायलाई लहानस्थित दलित संरक्षण अभियान मञ्चले कम्बल वितरण गरेको छ ।

केही दिनदेखि बढेको शीतलहरीका कारण अत्यधिक कष्टकर जीवन बिताइरहेका आगलागी पीडितलाई ग्लोबल फन्डको सहयोगमा ७० थान कम्बल वितरण गरिएको दलित संरक्षण अभियान मञ्चका कार्यक्रम संयोजक सूर्यनारायण रामले जानकारी दिए । ‘प्रत्येक घरपरिवारलाई आवश्यकता हेरेर दुईदेखि तीनवटासम्म कम्बल वितरण गरिएको छ,’ मञ्चका कार्यक्रम संयोज सूर्यनारायण रामले भने ।

चिसोबाट २ को मृत्यु

चिसोबाट सिरहामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक राजन भेटवालका अनुसार केही दिनयता बढेको चिसोबाट दुई दिनमा सिरहा लक्ष्मीपुर पतारी–६ की ४५ वर्षीया मीकोदेवी पासवान र अनार्मा गाउँपालिका–३ का ६५ वर्षीय कारी यादवको मृत्यु भएको हो ।

स्राेत ः कान्तितपुर